सरकारबारे निर्णय लिन एमाओवादी बैठक बस्दै

वैशाख २३, काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट बाहिरिने वा रहिरहने भन्नेबारे निर्णय लिन एमाओवादीले स्थायी समितिको बैठक बोलाएको छ।

बिहीवार दिउँसोका लागि बोलाइएको स्थायी समिति बैठकमा केपी ओली नेतृत्वको सरकारबाट बाहिरिने वा रहिरहने भन्ने विषयमा छलफल हुने छ।

बैठकले वर्तमान सरकारबाट बाहिरिने वा के गर्ने भन्ने विषयको अन्तिम टुंगो लगाउने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए।

यसअघि बुधवार बसेको एमाओवादी स्थायी समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै अन्य दललाई सरकारमा सहभागी हुन आह्वानसमेत गरेको थियो।