आत्मघाती गोलको उपहार पाउँदै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

एजेन्सी– आत्मघाती गोलको उपहार पाउँदै स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ। योसँगै उसले उपाधिका लागि शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँगको भेट पक्का गरेको हो।

गएराति आफ्नै घरेलु मैदना सान्टियागो बर्नबाउमा भएको दोस्रो लेगका खेलमा म्यानचेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको उपाधि नजिक पुगेको हो।

फाइनल पुग्न रियल मड्रिडले आत्मघाती गोलको उपहार पायो। पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि बर्नबाउमा भएको खेलमा सिटीका आत्मघाती गोल नै पहिलो पटक च्याम्यिन्स लिग फुटबलको फाइनल प्रवेश गर्न बाधक सावित भयो।
खेलको २० औं मिनेटमा म्यानचेस्ट सिटीका फर्नान्डोले आत्माघाति गोल गरेपछि सेमिफाइनलबाटै घर फर्कनु परेको हो। रियल मड्रिडका ग्यारेथ बेलको क्रसको बललाई नियन्त्रण गर्ने क्रममा फर्नान्डोले आफ्नै पोस्टमा गोल गरेका हुन्।

यस्तै रियल मड्रिडका रोनाल्डो,ग्यार्थ बेल र लुका मोड्रिचको प्रहार सिटीका गोल रक्षक जोय हार्टले उत्कृष्ट बचाउ गरेका थिए। रियल मड्रिड समग्रमा १(० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो।
यसअघि मंगलबार राति भएको खेलमा जर्मनीको बायर्न म्युनिखलाई हराँउदै एथ्लेटिको मड्रिड फाइनल प्रवेश गरेको थियो।

१० पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको विजेता रियल मड्रिडले यसअघि सन् २०१४ को फाइनलमा शहरी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको थियो। उपाधि भिडन्त जेठ १६ गते इटालीको मिलानमा हुनेछ।