अरुको नेतृत्वमा पनि सहमतिको सरकार बनाउन सकिन्छः खनाल

वैशाख ५, काठमाडौं –नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेकपा एमाले भित्र पार्टीको नवौ महाधिवेशनको धङधङ्गी अझै नसकिएको बताएका छन ।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीभित्र कुनै गुट नरहेको दावी गरेकै दिन उनले पार्टीको नवौ महाधिवेशनमा दुई गुट बनाएर चुनाव लडेको धङधङ्गी अझै नमेटिसकेको बताएका हुन् ।
उनले पार्टी अध्यक्ष ओलीले आफूमा फर्किफर्कि पदमा दोहोरिने आकांक्षा नभएकोले गुटबन्दी नगर्ने भनि गरेको टिप्पणी प्रति लक्षित गर्दै अध्यक्षले त्यो अरु कसै प्रति भन्दा पनि आफू प्रति नै फर्किएर भनेको बताए ।
संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने आवश्यकता औल्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बन्न नसके अरु कसैको नेतृत्वमा पनि त्यस्तो सरकार बनाउन सकिने धारणा राखे ।
खनालले भने,‘ अब नयाँ संविधान अनुसारको नयाँ आर्थिक नीति, सामाजिक र सास्कृतिक पद्धती बसालेर मुलुकलाई समृद्ध बनाउनु छ । आर्थिक जग नहाली लोकतन्त्र समृद्ध हुन सक्दैन । त्यसैले अब सबै एकताबद्ध भएर आर्थिक एजेण्डा बनाएर अघि बढ्नु पर्छ ।’
उनले औचित्य पुष्टि नगरेसम्म सात प्रदेशमा कुनै पनि हालतमा तलमाथि नहुने स्पष्ट पार्दै सात प्रदेशमा तलमाथि गर्न राष्ट्रिय जनमतको आवश्यकता रहेको दावी गरे । खनालले भने,‘ सात प्रदेशमा तलमाथि हुँदै तर एकाध ठाँउको कुरा हो भने बार्ताबाट मिलाउन सकिन्छ ।’
उनले मधेसको मुद्दा बार्ता र संबादको टेबलमा बसेर समाधान गर्नु पर्ने भन्दै मधेसवादी दलहरुलाई समस्या समाधानकोलागि बार्तामा आउन आब्हान गरे । उनले भने,‘ एमालेको केन्द्रीय समितिको बैठकले पनि मधेसको मुद्दा समाधानको विषयमा निर्णय गरिसकेको छ । अब बार्तामा आएर समस्याको समाधान खोज्नु पर्छ ।’