पीएसभीलाई हराउँदै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा

एजेन्सी नेदरल्याण्ड्सको पि।एस।भीलाई पराजित गर्दै स्पेनिस क्लब एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ।

गएराति मड्रिडमा भएको प्रि–क्वाटरफाइनलको अन्तिम लेगमा पीएसभीलाई पेनाल्टी सुटआउटमा ८–७ गोल अन्तरले पराजित गर्दै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको हो।
पीएसभी र एथ्लेटिकोले पहिलो लेगमा गोलरहित बराबरी खेलेका थिए।

खेलको दोस्रो लेगमा निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो।

पेनाल्टी सुटआउटमा एथ्लेटिको मड्रिडले पीएसभीलाई ८–७ गोल अन्तरले हरायो। एथ्लेटिकोका हुँवाफ्रानको गोल नै निर्णायक बनेको थियो।

एथ्लेटिको मड्रिडसँगै म्यानचेस्टर सिटी, रियल मड्रिड, पीएसजी, वल्फबर्ग र बेनफिका च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन्। अन्य दुई टोलीको छिनोफानो भने बुधवार राति हुनेछ। बुधवार राति क्वाटरफाइनल प्रवेशका लागि बार्सिलोनाले आर्सनलको र बायन म्युनिखले युभेन्ट्सको सामना गर्दैछन्।–