चीनसँग इन्धनसहितका व्यापारिक सम्झौता गर्न प्रधानमन्त्रीलाई चुरेभावरको सुझाव

चैत ३, काठमाडौं–  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चीन भ्रमणका क्रममा चीनसँग सन्धि सम्झौता गर्दा राष्ट्रिय स्वाधिनतालाई ध्यान दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ।

पार्टीका तर्फबाट अध्यक्ष बद्रीप्रसाद न्यौपानेले बुधवार विज्ञप्ति जारी गरी चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीले  आफ्नो मुलुकको स्वार्थ, राष्ट्रियता, स्वाधिनताका साथै वाणिज्य तथा पारवबहनको विषयलाई ध्यान दिइ अगाडि बढ्न सुझाव पनि दिएको छ। उसले दुई मुलुकबीचको हित र जनताको आवश्यकता अनुसार अगाडि बढ्नु नै अहिलेको प्रमुख दायित्व भएको उल्लेख गरेको छ।

उसले चीनको भ्रमणका बेला इन्धनका साथै अन्य व्यापारिक सम्झौता गर्न पनि जोड दिएको छ। ‘तेल, ग्यास, औषधिलगायतका अत्यावसेक वस्तुमा एउटा मात्रै मुलुकको भरपर्दा नेपाली जनताले महिनौदेखि दुःख पाएको दृष्टान्त सेलाउन पाएको छैन। यस्तो अवस्थामा प्रधानमन्त्रीको भ्रमणले यी र यस्ता विषयलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ, विज्ञप्तिमा उल्लेख छ।’

यस्तै चुरेभावरले नेपालको भूमि लिपुलेकमा चीन र भारतले नाका खोल्न गरेको सम्झौताका विषयमा पनि गम्भीररुपमा कुरा उठाउन आग्रह गरेको छ। ‘नेपालको सहमतिविना गरिएको सम्झौतालाई तत्काल यसै भ्रमणका बेला कुटनीतिक माध्यममार्फत लिपुलेकको समस्या समाधान गर्न आग्रह गर्दछौं, विज्ञप्तिमा भनिएको छ।’

प्रधानमन्त्री ओली चैत ७ देखि १४ गतेसम्मका लागि चीन भ्रमणमा जाँदैछन्।