कांग्रेसका निर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण

चैत ३, काठमाडौं– नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट निर्वाचित सभापतिसहित सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिँदैछ।

केन्द्रीय निर्वाचन समितिले बुधवार दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच नवनिर्वाचित सभापति शेरवहादुर देउवासहित ६४ सदस्यीय निर्वाचित केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न लागेको कांग्रेस पाटी कार्यालयका सचिव प्रदिप पराजुलीले जानकारी दिए।

सभापतिमा निर्वाचित भएको प्रमाणपत्र पाएपछि सभापति देउवाले बुधवार नै सभापतिकासहित महामन्त्री तथा कोषाध्यक्षका प्रतिस्पर्धीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने तयारी गरेका छन्।

देउवा निकट स्रोतका अनुसार सभापतिमा पराजित भएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, महामन्त्रीका प्रतिस्पर्धी अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षका उम्मेदवार चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नेछन्।