नाकामा कडाइ कायमै : इन्धन बोकेका गाडीहरु नेपाल पठाउन अझै आनाकानी

असोज १९, काठमाडौँ – भारतीय पक्षले मंगलबार पनि इन्धन बोकेका गाडी नेपाल पठाउन आनाकानी गरेको छ । रुपैडिया नाकाबाट मंगलबार भित्रिएका ६ वटा मालवाहक गाडीमा चार ट्रक चामल र दुई ट्रक कोइला रहेको बताइएको छ । नेपालगन्जबाट भारतको गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लिन गएका नेपाली ट्यांकरहरुमध्य १० प्रतिशतलाई मात्र डिपोले तेल भरीदिने गरेको छ ।

विराटनगरको रानी भन्सारबाट मंगलबार बिहान एउटा ग्यासको बुलेट र औद्योगिक कच्चापदार्थ बोकेका ९ वटा ट्रक नेपाल भित्रिएका छन् । पूर्वको मेची भन्सारबाट गएराति १० बजे ६ ट्यांकर तेल नेपाल भित्रिएको छ । भन्सार कार्यालयका अनुसार, ५२ किलोलिटर डिजेल, ३२ किलोलिटर पेट्रोल र २० किलोलिटर हवाई इन्धन भित्रिएको हो । ३५ ट्यांकरहरु तेल भर्ने पर्खाइमा छन् ।

बेहलिया नाकामा पर्यटक मात्रै
रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट मंगलबार विहान पर्यटक सवार बस मात्रै नेपाल भित्रिएका छन् । सोमबार दिनभर प्रहरी र प्रदर्शनकारीबीच भएको झडप कारण तनावग्रस्त रहेको सो क्षेत्र विहानसम्म शान्त छ ।

नेपालको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार नाका भने मंगलबार १३ औं दिन पनि ठप्प छ । मितेरी पुलमा मधेसी मोर्चाका कार्यकर्ताहरुले पाल टांगेर चौबीसै घण्टा धर्नामा बसेका कारण बीरगञ्ज भन्सार सुनसान छ ।