आक्रान्त बनेका सर्वसाधारणलाई सान्त्वना दिन प्रशासनले पहल थाल्यो

राजेन्द्र रावल

असोज १९, कैलाली – भदौ ७ गते टीकापुर घटना पछि आक्रान्त बनेका सर्वसाधारणलाई सान्त्वना दिन स्थानिय प्रशासनले पहल थालेको छ । इलाका प्रशासन कार्यालय टीकापुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोलीले गाउ गाउँमा गएर सर्वसाधारणलाई दुई समुदायबीच आपसी सद्भाव कायम गर्न, कानुनको उल्लंघन नगर्न सम्झाउन थालेको छ । भदौ ७ गतेको घटनापछि थारु र पहाडी समुदायबीच भड्किएको सामाजिक सद्भावलाई कायम गर्न गाउ गाउँमा पहल गर्ने कार्यक्रम अन्तर्गत आज प्रशासनले कैलालीको दुर्गौलीमा गाविसमा सद्भाव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा उपस्थिति नागरीहरुलाई गाउ घरमा सामाजिक सद्भाव कायम गरेर एक आपसमा मिलेर बस्न इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सुमन धितालले आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुले गाउमा सामाजिक सद्भाव कायमै रहेको बताएका छन् । उनीहरुले आफूहरुबीच युगौदेखिको भाइचाराको सम्बन्ध कायमै रहेको बताएका हुन । नागरीकहरुले आफूहरु माथी विगतमा सुरक्षा निकायबाट भएका ज्यादती सुधार्नु पर्ने, कफ्र्यु घेरामा मात्रै नराख्न समेत आग्रह गरेका थिए । कार्यक्रममा सशस्त्र प्रहरी बल उग्रतारा गण टीकापुरका प्रमुख हर्क बहादुर रावल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं डिएसपी रञ्जित राठौर, जगत बहादुर चौधरी, पुष्पा विक, दीपेन्द्र सुवेदी, भगवती दास चौधरी, टेक बहादुर विक लगायतकाले बोलेका थिय । प्रसासनले यसअघि पथरैया र मुनुवा गाविसका स्थानीयहरुसंग सद्भावका लागि छलफल गरेको थियो ।