आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी

भदौ २९, काठमाडौं – नेपालको संविधान, २०७२ आगामी असोज ३ गते साँझ ५ बजे जारी गर्ने तयारी गरिएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र संविधानसभा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई संविधान जारी गर्ने समारोहमा सहभागी हुन निमन्त्रणा लिएर राष्ट्रपति डा रामवरण यादवलाई भेट्न आज साँझ राष्ट्रपति कार्यालय शीतलनिवास जाने सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति डा यादवले संविधान जारी भएको घोषणा गर्नुहुनेछ । संविधानसभामा जारी रहेको संशोधन प्रस्ताव, धारा, अनुसूचीमाथिको मतदान प्रक्रियालाई केही दिनभित्रै टुङ्गो लगाएर संविधान जारी गर्ने आवश्यक तयारी सचिवालयले गरेको छ ।
लामो राजनीतिक खिंचातानी, अन्योल तथा राजनीतिक दलबीचको संवाद, सहकार्य र वार्ताको मात्रै समाचार सुन्दै आएका नेपाली जनताले पहिलो पटक संविधान जारी हुने मिति थाहा पाएका हुन् ।