वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले छैटौं अनशन बस्दै

भदौ २५,काठमाडौं – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले छैटौं अनशनका क्रममा भएको सहमति कार्यान्वयनका लागि दिएको अल्टिमेटम सकिए पनि सरकारले त्यसनिम्ति कुनै पहल गरेको छैन।
१४ दिन लामो आमरण अनशनपछि सरकारले गत शनिबार गरेको ११ बुँदे सम्झौताको प्रमुख बुँदा ४८ घन्टा नबित्दै उल्लंघन भएपछि डा.केसीले माग पूरा गर्न हिजोसम्मको अल्टिमेटम दिएका थिए। सरकारका तर्फबाट वार्ता र सहमति प्रक्रियामा संलग्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेल र मुख्य सचिव सोमलाल सुवेदीले लगत्तै बस्ने मन्त्रिपरिषद बैठकबाटै चिकित्सा शिक्षा आयोग गठन गर्ने सहमति गरेका थिए।
सोमबार मन्त्रिपरिषदले चिकित्सा शिक्षा आयोग गठन नगरीकनै सो सम्झौता कार्यान्वयन र सैद्धान्तिक सहमतिका लागि सामाजिक समितिमा पठाएको थियो। डा. केसीले मंगलबारै विज्ञप्ति जारी गरेर बिहीबारसम्म माग पूरा नगरे आज अर्को अनशन थाल्ने चेतावनी दिएका थिए। हिजो मन्त्रिपरिषद बैठकै बसेन डा. केसीले आज ३ बजे अनशन सुरु गर्ने बताएका छन्। छैटांै अनशनका क्रममा भएको संक्रमणका कारण उनले एन्टिबायोटिक्स सेवन गरिरहेका छन्। उनले स्वास्थ्यमा सुधार आइनसकेकै कारण हालसम्म ठोस खानेकुरासमेत लिन थालेका छैनन्।