अनिश्चितकालिन कर्फ्यु आदेश जारी

भदौ २५,जनकपुर – मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि धनुषाको जनकपुरमा आज बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । मोर्चाले शुक्रबार जनकपुरमा महाक्रान्र्ति याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो ।

उता, महोत्तरीमा स्थानीय प्रशासनले गए रातीदेखि जारी गरेको कर्फ्यु शुक्रबार बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाको लागि हटाएको छ । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किन्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।

यसैविच लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण शुक्रबार दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा बिहीबारदेखि आमहड्तालको आह्वान गरेको हो ।

संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, ते¥हथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।