आज विश्व धुम्रपान विरोध दिवस

जेष्ठ, १७ काठमाण्डौ— आज विश्व धुम्रपान विरोध दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपान सेवनका कारणले प्रत्येक वर्ष ६० लाख मानिसको ज्यान जाने गरेको छ ।

नेपालको तथ्याङकलाई हेर्ने हो भने ४९ प्रतिशत पुरुष र २९ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको प्रयोग गर्छन् । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ । २०६७ साल चैत २८ गते संसदले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न बिधेयक पास गरेपछि ऐन र नियमाबली समेत लागु भैसकेको छ ।

सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको छ । तर यसको कार्यान्वयन भने हुन सकेको छैन ।