राष्ट्रिय सहमतिको सरकारका विषयमा दलहरुको छलफल आज पनि

जेठ १८,काठमाडौ – राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा केन्द्रित भएर दलहरुले आज पनि छलफल जारी राख्ने भएका छन् ।

नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शिर्ष नेताहरुबीच हिजोदेखि शुरु भएको सहमतीय सरकारबारेको छलफल आज पनि जारी रहने भएको हो । हिजोको बैठकले विवादित संघीयतालगायतको विषयमा सहमति गर्ने जिम्मा शीर्ष ४ नेतालाई दिएको छ ।
त्यसै अनुसार प्रधानमन्त्री तथा कांगे्रस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदारलाई जिम्मा दिएकाले आज थप छलफल हुन लागेको हो ।
दलहरुले सहमतिका लागि भन्दै ५ दिनको समय मागेकाले हिजो बोलाइएको संविधानसभाको बैठक पनि स्थगित गरिएको थियो । त्यसैअनुसार तिब्ररुपमा छलफल अघि बढाउने र सकेसम्म ५ दिन भित्रै ठोस निचोड निकाल्ने दाबी दलहरुको छ । ४ शीर्ष नेताको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा शुरु हुने एक नेताले जानकारी दिए ।
यसैबीच शीर्ष नेताहरुको बैठक सकिएपछि एकीकृत माओवादी नेतृत्वको छुट्टै मोर्चाको बैठक पनि बस्ने भएको छ । ४ दलीय बैठकमा भइरहेको छलफललगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।