यसकारण पर्यटनमन्त्रीद्वारा राजीनामा

जेष्ठ ८, काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री दीपकचन्द्र अमात्यले पदबाट राजीनामा दिएका छन् । अमात्यले राजीनामा पत्र बिहीबारै साँझ प्रधानमन्त्री सुशील कोइरालालाई बुझाएका छन् ।

एमाले बरिष्ठ नेता झलनाथ खनालका निकटस्थ उनी खनालकै सिफारिसमा एमालेबाट मन्त्री भएका थिए । मन्त्री भएदेखि नै राम्रो काम गर्न नसकेको भन्दै पार्टीभित्र उनको निरन्तर आलोचना भइरहेको थियो ।
खनाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका अमात्य केही समयअघि पार्टी नेतृत्वलाई जानकारी नगराई अमेरिका उडेपछि उनीसँग अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु नै असन्तुष्ट थिए ।
एमालेकै अर्का नेता भीम आचार्यलाई हटाएर अमात्यलाई पर्यटनमन्त्री बनाइएको थियो । अमात्यले अध्यक्ष ओलीलाई जानकारी गराएरै प्रम कोइरालालाई राजीनामा पत्र बुझाएका हुन् ।
अमात्यलाई केही समययता पार्टी नेतृत्वले नेपाल पर्यटन बोर्ड र नेपाल बायु सेवा निगमसहितका राजनीतिक नियुक्ति गर्न निरन्तर दबाब दिइरहेको स्रोतले दाबी गरेको छ ।
अमात्यले राजीनामा दिएपछि उनको विकल्पमा अर्का नेताको खोजी शुरु भएको छ ।