घाउ खाटा बस्न नपाउँदै रामेछाप बजारबासी माथि अर्काे प्रहार

जेष्ठ ८, काठमाडौँ – “अरु भन्दा पनि २०४५ सालको भुकम्पले सदरमुकाम खोस्यो , २०७२ सालको भुकम्पले अब के खोस्ने हो भन्ने पो चिन्त छ ”– भुकम्प प्रभावित क्षेत्रको स्थलगत निरिक्षणको लागि रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार पुगेका उद्योग मन्त्री महेश बस्नेतलाई रामेछाप बजारबासीको पीडा यसरी सुनाए रामेछाप बजारका स्थानीय ढालबिक्रम कार्कीले ।
रामेछापको पुरानो सदरमुकाम रामेछापबासीलाई प्रकृतिले एउटा घाउमा खाटा बस्न नपाउँदै अर्काे प्रहार गरेको छ । २०४५ सालमा आएको भुकम्पले दिएको पीडा सेलाउन नपाउँदै फेरी २०७२ साल बैशाख १२,१३ र २९ गते आएको भुकम्पले रामेपछाप बजारलाई ध्वस्त बनाएको छ । रामेछाप बजारमा रहेका १ सय ५० घर काम नलाग्ने गरी ध्वस्त भएका छन् ।
“बजारका एउटा पनि घर बस्न हुने छैनन् । ढुङ्गा माटोका घर सबै भत्किएका छन् । पक्कि भवन पनि बस्न हुने छैनन् । पुरै बजार खण्डहर भयो । २०४५ सालकको भुकम्पले बनाएको घाउ खाटा बस्न नपाउँदै हामीलाई भुकम्पले अर्काे घाई लगाइदियो”– रामेछाप बजार व्यस्थापन समितिका संयोजक गौतम श्रेष्ठ बताउँछन् ।
२०४५ सालमा गएको भुकम्पको कारण रामेछाप बजारका अधिकाँस सरकारी कार्यालय तथा व्यक्तिगत घरमा समेत क्षति पुगेको थियो । भुकम्पको कारण बजार बस्न लायक नभएको भन्दै २०४५ सालमा रामेछापको सदरमुकाम रामेछाप बजारबाट अहिलेको सदरमुकाम रहेको मन्थली बजारमा सदरमुकाम सारिएको थियो । २०८ वर्षसम्म सदरमुकाम बसेको इतिहाँस बोकेको रामेछाप बजार सदरमुकाम मन्थली सरेपछि रामेछाप बजार लामो समयसम्म सुनसान भएको थियो । मन्थलीदेखि रामेछाप सम्मको सडक निर्माण तथा हालैमात्र नगरपालीका बनेपछि रामेछाप बजारमा चहलपहल सुरु भएको थियो । खण्डहर भएको वजारलाई समेट्दै भर्खरै मात्र उठ्न लागेको रामेछाप बजार फेरी नराम्रोसँग थला परेको छ । भुकम्पका कारण रामेछाप बजारका सबै घरहरु बस्न नहुने भएका छन् । ढुङ्गा माटोले बनेका मात्र हैन पक्कि घर समेत काम नलाग्ने गरी भक्तिएका छन् ।
व्यक्तिगत भवन मात्र हैन रामेछाप बजरामा रहेका जिल्ला वन कार्यालय, कारागार, जिल्ला स्वास्थ्य कार्यालय, भू तथा जलाधार संरक्षण कार्यालय लगायतका सरकारी कार्यालयका भवन समेत भत्किएकका छन् । अहिले सरकारी कार्यालयहरु समेत पाल टाँगेर बसेका छन् ।
यसै बिच उद्योम मन्त्री महेश वस्नेतले शुक्रबार रामेछाप नगरपालीका अन्तर्गतको रामेछाप बजारमा भुकम्पले पु¥याएको क्षतिको स्थलगत निरिक्षण गरेका छन् । सो क्रममा मन्त्री बस्नेतले भुकम्प प्रभागितहरुसँग भेटघाट गरेका थिए । मन्त्री बस्नेतलाई स्थानीय राजनितिक दलका प्रतिनिधि र सर्वसाधारणले रामेछाप नगरपालिका र रामेछाप बजारको वस्तुस्थितिको बारेमा जानकारी गराएका थिए । त्यसै गरी रामेछापका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जिल्लामा भई रहेको राहात र उद्धारको कामको बारेमा जानकारी गराएका थिए ।
मन्त्री बस्नेतले जनताले चाहेजस्तो गरी सरकारले सहयोग गर्न नसेकेकोले आक्रोस बढेको स्विकारेका थिए । उनले सरकारले प्रभावितहरुलाई आवासको व्यवस्थाको लागि प्रयास गरी रहेकाले कुनै पनि नेपालीले घरबार वीहीन हुनु नपर्ने आश्वासन दिएका थिए ।