कक्षा ११ को परीक्षाफल पुस अन्तिम साता

पुस ९,भक्तपुर- उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल पुस अन्तिम साता सार्वजनिक गर्ने भएको छ ।

गत जेठ १ गतेदेखि १२ गतेसम्म संचालन गरेको परीक्षाको नतिजा पुस अन्तिम सातामा प्रकाशित गर्ने तयारी भएको परिषद्का परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो । परीक्षामा देशभरबाट कुल ३ लाख ८३ हजार ४ सय ३ जना परीक्षार्थी सहभागी भएका छन् ।
विगतका वर्षहरुमा मंसिर पहिलो साता अगावै परीक्षाफल प्रकाशित गर्ने गरेको भएपनि यसवर्ष भने परिषद्ले परीक्षाफल प्रकाशित गर्न ढिलाई गरेको छ ।
परीक्षा नियन्त्रक अर्यालले अनुसार परीक्षार्थीको उत्तर पुस्तिका परीक्षण गर्ने कार्य सम्पन्न गरेर संपरीक्षण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । संपरीक्षण सम्पन्न गरि डाटा ईन्ट्री गर्ने काम सम्पन्न गरेपछि परीक्षाफल प्रकाशित गरिने उहाँले बताउनुभयो ।
कक्षा ११ को परीक्षा दिएर विद्यार्थीहरु कक्षा १२ अध्ययन गरिरहेकाले हतारिएर परीक्षाफल प्रकाशित गर्नुपर्ने आवश्यकता नभएकाले केही ढिला हुन गएको उहाँले बताउनुभयो ।