सचिन तेन्दुल्कर नेपाल आउँदै

कात्तिक २०, काठमाडौँ -भारतीय क्रिकेटका महान् हस्ती सचिन तेन्दुल्कर एकदिने भ्रमणका लागि नेपाल आउने तयारी भइरहेको छ। युनिसेफका सरसफाइ तथा स्वच्छता सद्भावना राजदूत समेत रहेका तेन्दुल्कर विश्व शौचालय दिवसको अवसर पारेर नेपाल आउने तयारी भएको हो। निर्धारित कार्यक्रममा कुनै फेरबदल नभए सचिन मंसिर ४ गते ओर्लनेछन्।
युनिसेफको नेपाल कार्यालय र काठमाडौं महानगरपालिको संयुक्त पहलमा निर्माण हुने अपांग तथा बालमैत्री शौचालयको शिलान्यास तथा सरसफाइको सन्देश लिएर सचिन नेपाल आउने तयारी भइरहेको हो। उनले काठमाडौंको रत्नपार्कमा निर्माण हुने अपांग तथा बालमैत्री शौचालयको शिलान्यास गर्नुका साथै बालबालिकासँग क्रिकेट समेत खेल्ने छन्।
उनको नेपाल भ्रमणको मुख्य उद्देश्य सरसफाइ र स्वच्छ अभियान भए पनि जीवनको लामो समय क्रिकेटमा बिताएका उनले नेपाली क्रिकेट टिमसँग समेत भेटवार्ता गर्नेछन्। नेपाली टिमले क्रिकेटमा गरेको प्रगतिका लागि सार्वजनिक रूपमै प्रशंसा गरिसकेका तेन्दुल्करले नेपाल टिट्वेन्टी विश्वकपमा छनोट भएपछि बधाई दिएका थिए।
युनिसेफले तेन्दुल्कका लागि बालबालिकासँग क्रिकेट खेल्न खुलामञ्चको माग गरे पनि महानगरपालिकाले सार्कको तयारीलाई देखाउँदै खुलामञ्च दिन आनकानी गरिरहेको छ। महानगरपालिका उच्च स्रोतका अनुसार तेन्दुल्कर एक दिनका लागि मात्रै नेपाल आउने लगभग पक्का भइसके पनि सुरक्षा तथा अन्य कारणले कार्यक्रम गोप्य राखिएको हो।
भारतीय राज्यसभाका सदस्य समेत रहेका तेन्दुल्कर भारतरत्नबाट समेत विभूषित भइसकेका छन्। तेन्दुल्कर एकदिवसीय र टेस्ट क्रिकेटमा सर्वाधिक रन र शतक बनाउने खेलाडी हुन्। सचिनले दुई सय टेस्टमा कुल १५ हजार नौ सय २१ रन बनाएका छन्।
टेस्ट क्रिकेटमा उनले ५१ शतक र ६८ वटा अर्धशतक हिर्काएका छन्। यसैगरी उनले चार सय ६३ वटा एक दिवसीय खेलेर ४९ शतक र ९६ वटा अर्धशतक हिर्काएका छन्। एक दिवसीय खेलमा उनको कुल रन संख्या भने १८ हजार चार सय २६ रहेको छ। अन्नपुर्ण पोष्टमा खबर  छ ।