भगवान भरोसामा सीमा स्तम्भ

कात्तिक २०, इलाम—सुदूरपूर्वी सीमाक्षेत्रमा हराएका र भत्किएका सीमा स्तम्भ पुनःनिर्माणमा बर्षौंदेखि बेवास्ता गरिँदै आएको छ। पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयले पाँचथरको सिदिनदेखि इलामको जिर्मलेसम्मका सीमा स्तम्भको स्थलगत निरीक्षण गरी हराएका, भत्किएका र टुटफुट भएका स्तम्भको विवरण बुझाए पनि माथिल्लो निकायले पुनःनिर्माणमा चासो नदेखाएको हो।
कार्यालयले यज्ञप्रसाद आचार्य प्रमुख रहेका बेला २०६७ सालमै एक विस्तृत प्रतिवेदन तयार पार्दै ‘पाँच स्तम्भ हराएका, पाँच भत्किएका, दुईटा पूर्ण क्षति भएकाले’ तिनीहरुको तत्काल पुननिर्माण गर्नुपर्ने सुझाएको थियो। यस्तै, नेपालतर्फ नम्बर मेटिएका पाँच सीमा स्तम्भमा पुनः नम्बर राख्न सुझाउँदै बुझाइएको प्रतिवेदनको चार बर्ष बित्दासम्म सुनुवाई नभएको हो।
अहिलेका कार्यालय प्रमुख लक्ष्मीप्रसाद खरेलका अनुसार, उक्त प्रतिवेदनमा सिदिनदेखि जिर्मलेसम्मकै मुख्य तथा सहायक सीमा स्तम्भको अवस्था उल्लेख छ। जसअनुसार, हराएका स्तम्भ पशुपतिनगर–४, हिलेका छन् । त्यहाँबाट २०५८ ताका हराएका ७१/२१, ७१/२२ र ७१/२३ नम्बरका सहायक स्तम्भ नभेटिएको र पुननिर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, पशुपतिनगर–श्रीअन्तुवीचको दीपकमल सामुदायिक वनभित्रका ७२/३ र ७२/४ नम्बरका सहायक स्तम्भ पनि नभेटिएको जनाइएको छ । गोर्खे–४ को मच्र्याङस्थित सीमाक्षेत्रको १९/२ नम्बरको मुख्य स्तम्भ भत्किएको छ । श्रीअन्तु–८ मा ७२/७ नम्बरको सहायक स्तम्भ पुननिर्माण गर्नुपर्ने अवस्थामा छ । टुटफुट भएर सग्ला नरहेका स्तम्भ पनि निकैवटा छन् ।
‘चार बर्षअघि नै सीमा स्तम्भको अवस्था जाहेर गर्दै पुननिर्माणको प्रस्ताव गरिएको देखिन्छ’ सरुवा भई भरखरै आएका खरेलले भने, ‘अहिलेसम्म त्यो प्रतिवेदनको सुझाव कार्यान्वयन भएको पाइएन, यसवीचमा अझै स्तम्भ तलमाथि भएका हुनसक्छन् ।’ भरखरै निरीक्षण गरेको इलाका प्रहरी कार्यालयले भने सीमा स्तम्भको बस्तुस्थिति केही दिनपछि मात्रै सार्वजनिक गर्नेछ ।
एकपल्ट गाडेपछि नियमित निरीक्षण र अनुगमन नहुँदा जीर्ण बन्दै गएका स्तम्भ कस्तासम्म भेटिएका छन् भने, पाँचवटामा नेपालतर्फ नम्बरै देखिँदैनन्। हरेक स्तम्भका नम्बर दुई देशको नापी विभाग कार्यालयको अभिलेखमा राखिने र त्यो अभिलेख स्तम्भमा पनि रहिरहनुपर्ने प्रावधान भए पनि त्यो कार्यान्वयन भएको देखिँदैन।प्रतिवेदनअनुसार, गोर्खे–४, लामीधुराको १९/१ नम्बर स्तम्भको नम्बर मेटिएको छ । पशुपतिनगर–५, पुलखोलाका दुईटा स्तम्भमा नम्बर देखिँदैन। श्रीअन्तु–७ र ८ का एक÷एक स्तम्भमा पनि नम्बर मेटिएको छ। ‘ती स्तम्भको भारतपट्टि नम्बर छ, नेपालपट्टि मेटिएको छ’ प्रतिवेदनबारे जानकारी दिँदै खरेलले नागरिकलाई भने, ‘तर, सुझाव सुनुवाई भएको छैन।’
भगवान भरोसामा छोडिए झैं लाग्ने सीमा स्तम्भको बनौट पनि एकै प्रकारको छैन। कहीँ साह्रै सानो र कहीँ असुहाउँदो देखिन्छ। मानेभञ्ज्याङ–सन्दकपुर खण्डमा भारतीय पक्षले निर्माण गरेको सडकका धेरैवटा घुम्ती नेपाली भूमितिर छिराइएको, दशगजा क्षेत्र अतिक्रमण गरी घर टहरा बनाइएको र नेपाली पक्षको अनुपस्थितिमा भारतले कतै–कतै वृक्षरोपणसमेत गरेको उल्लेख छ।काठमाडौँ  नागरिक दैनिकमा खबर  छ ।