टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ८ हजार पुग्यो

 

माघ २५, काठमाडौं  – टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या करिब आठ हजार पुगेको छ ।

अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२ जना गरी सात हजार ८ सय २६ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले जनाएको छ । टर्कीमा आठ हजार भन्दा धेरै मानिसको भग्नावशेषबाट उद्धार गरिएको र तीन लाख ८० हजार भन्दा धेरै मानिस घरबार विहीन भएर सरकारी शिविरमा रहेका बीबीसीले जनाएको छ । दुवै देशमा गरी २० हजार भन्दा धेरै मानिस घाइते भएको विवरण प्राप्त भएको र अस्पतालमा रहेका घाइतेहरुको विवरण सङ्कलन भैरहेको उद्धारमा संलग्न अधिकारीहरुले बताएका छन् ।

दुवै देशमा गरेर हजारौँ साना घर र ७ हजार वटा ठूला भवन भत्किएका खबरमा उल्लेख छ । विश्व स्वास्थ्य संगठनले भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार नाघ्न सक्ने र दुई करोड ३० लाख जना प्रत्यक्ष रुपमा पीडित भएको बताइएको छ । अत्याधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्दार र राहतमा कठिनाइ भइरहेको खबरमा उल्लेख छ । टर्की र सिरियाको सिमानामा सोमवार विहान ७ दशमलव ८ र दिउँसो ७ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।