राष्ट्रसंघको सहकार्यमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै नेपाल

माघ २५, काठमाडौं  – संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आउँदो जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ ।

विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा प्रयोग भइरहेका प्रविधि, चुनौती र असल अभ्यासबारे सदस्य राष्ट्रबीच अनुभव आदानप्रदान गर्न नेपालले उक्त कार्यक्रम गर्न लागेको हो ।

नेपालले विश्व शान्ति स्थापनाका लागि विगतमा गरेका प्रतिबद्धता र योगदानका आधारमा संयुक्त राष्ट्रसंघ सचिवालय मातहतको परिचालन सहयोग विभाग तथा सूचना एवं सञ्चार र प्रविधि कार्यालयको सहकार्यमा सातौँ संस्करणको अन्तर्राष्ट्रिय गोष्ठी नेपालमा गर्न लागिएको रक्षा मन्त्रालयका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

गोष्ठीमा संयुक्त राष्ट्रसंघ, शान्ति सेना खटाउने मुलुक र सहयोग संस्थाका प्रतिनिधि तथा विषयविज्ञ समेत गरी करिब ३०० को सहभागिता रहनेछ । गोष्ठीमा मुख्य नारामा आधारित अतिथि वक्ताको खुला सत्र, प्रस्तुतिकरण र विषयगत कार्य समूहमा छलफल हुनेछ ।

राष्ट्रसंघको आह्वानमा हालसम्म एक लाख ४४ हजार ५६५ नेपाली शान्ति सैनिकले विश्वका ४४ शान्ति मिसनमा खटिएर योगदान पुर्‍याइसकेका छन् । यसक्रममा ७२ जनाले वीरगति प्राप्त गर्नुका साथै ६६ गम्भीर घाइते भएका छन् । हाल विश्वका १२ शान्ति मिसनमा ५०६ महिलासहित ६ हजार ५९ सैनिक परिचालित छन् ।