राष्ट्रिय बुद्धिचालः रुपेश र सुजना च्याम्पियन

 

बैशाख ११, काठमाडौँ – खुलातर्फ फिडेमास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडेमास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन्।

यसअघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार आ–आफ्नो खेल जिते। नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन्।

८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन्। समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए।

प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कार पाइन्। साढे ५ अंकसहित क्रमसः सुशीला गुरुङ उपविजेता र शान्ती धिमाल तेस्रो भए। नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए। सुशीलाले १५ हजार तथा शान्तीले १० हजार रुपैयाँ पुरस्कार पाए।