मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न जनप्रतिनिधिलाई अभिमुखीकरण

चैत्र १, काठमाडौ-  चितवनमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम लागू गर्न यहाँका जनप्रतिनिधि र स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको छ । कार्यक्रम लागू गर्न जनस्वास्थ्य कार्यालय चितवनले अभिमुखीकरण तालिम दिएको हो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले नागरिकलाई स्वस्थ राख्ने यो कार्यक्रम महत्वपूर्ण रहेको बताए । अधिकारीले पालिकाका स्वास्थ्य शाखा÷महाशाखाका कर्मचारीले जिम्मेवारीपूर्वक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए ।

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले प्रत्यक्ष देखिने भएकाले सर्ने रोग प्राथमिकतामा पर्ने गरेको भन्दै नसर्ने रोगको उपचार र रोकथामलाई प्राथमिकतामा दिनु पर्ने दावि गरिन। रोग लाग्नै नदिने उद्देश्यसहित आएको यो कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।

खैरहनी नगरपालिकाका प्रमुख शशि खनियाले कार्यक्रम ल्याउँदा राम्रो देखिने तर कार्यान्वयनमा जाँदा समस्या हुने गरेको भन्दै प्रभावकारी कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताए । सो अवसरमा विश्व स्वास्थ्य सङ्गठनका प्रशिक्षक हरिप्रसाद भुसालले बागमती प्रदेशका एक सय १९ वटै पालिकामा यो कार्यक्रम लागू गर्न लागिएको बताए । उनले ७१ प्रतिशत मानिसको मृत्यु दीर्घरोगका कारण हुने गरेको जानकारी दिँदै मुटु तथा रक्तनलीका रोग, दीर्घ श्वासप्रश्वास, क्यान्सर, मधुमेह, मानसिक रोग प्रमुख रहेको बताए।

सुर्तीजन्य पदार्थको प्रयोग, अस्वस्थ आहार, शारीरिक निस्क्रियता, मदिराजन्य पदार्थको प्रयोगका कारण दीर्घरोग लाग्ने गरेको उनको भनाइ छ । उनले दीर्घरोग खरायोको गतिमा बढ्दै गएको भन्दै यसको रोकथामका कार्यक्रम कछुवा गतिमा रहेको बताए ।

बागमती प्रदेश सरकारको ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’अन्तर्गत नेपाल सरकारले गरिब घरपरिवार परिचयप्राप्त नागरिक, स्वघोषित विपन्न घोषणा गरेको व्यक्ति, लोपोन्मुख तथा अल्पसङ्ख्यक समुदाय, सहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइते, महिला स्वास्थ्य स्वयंसेविका, लोकतान्त्रिक जनआन्दोलनका घाइते व्यक्तिलाई निःशुल्क स्वास्थ्य जाँच र परामर्श दिइने छ ।

कार्यक्रमको नसर्ने रोगको समयमा नै पहिचान, रोकथाम, उपचार र त्यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न स्वास्थ्य परीक्षण गर्ने र आवश्यक सल्लाह सुझाव तथा सेवा उपलब्ध गराउने उद्देश्य रहेको छ । नसर्ने रोग रोकथामसम्बन्धी समुदायस्तरमा चेतना अभिवृद्धि गरी रोगको जोखिम न्यूनीकरण गर्ने जनाइएको छ ।