महिला टी २० विश्वकप सेमिफाइनल समीकरण पूरा

फागुन १०, काठमाडौं – दक्षिण अफ्रिकामा जारी महिला विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ। समूह २ मा इंग्ल्यान्ड समूह विजेता र भारत उपविजेता बन्दा समूह १ बाट अस्ट्रेलिया विजेता र आयोजक दक्षिण अफ्रिका उपविजेता बन्यो।

इंग्ल्यान्डसँग पाकिस्तान पराजित भएपछि भारतको अस्ट्रेलियासँग सेमिफाइनल भेट पक्का भयो। बिहीबार भारत र अस्ट्रेलियाबीच पहिलो सेमिफाइनल हुनेछ। शुक्रबार इंग्ल्यान्डले आयोजक दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

मंगलबार भएको समूहको आफ्नो अन्तिम खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ११४ रनको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१३ रनको उच्च स्कोर बनाएको थियो।

उसका लागि ओपनर ड्यानी वायटले ५९ रन बनाउँदा नत सिभर(ब्रन्टले ८१ रनको अविजित इनिङ खेलिन। त्यस्तै एमी जोनेसले ४७ रन बनाउँदा इंग्ल्यान्डले विशाल स्कोर बनाएको थियो।

जवाफमा पाकिस्तान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनमात्र बनाएको थियो। उसका लागि तुवन हसनले २८ रन बनाउँनु सर्वाधिक रह्यो। इंग्ल्यान्डका लागि ब्रन्ट र चार्ली डिनले समान २(२ विकेट लिए।

त्यस्तै, अर्को खेलमा बंगलादेशलाई दक्षिण अफ्रिकाले १० विकेटले हराउँदै सेमिफाइनल यात्रा पक्का गरेको थियो। बंगलादेशले बनाएको ११३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ बल बाँकी हुँदा विना विकेटको क्षतिमा पूरा गरेको थियो।