इंग्लिस प्रिमियर लिग – लिभरपुल र चेल्सीको बराबरी

माघ, ८ एजेन्सी  – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका छन्। शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले गोलका केही राम्रा मौका पाएपनि सदुपयोग गर्न असफल रहे।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा दुबै टिमलाई शीर्ष चारमा स्थान बनाउनपनि जित्नु पर्ने दबाब रहेको खेलमा दुवैले अङ्क बाँडेका हुन्। तर खेलमा तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाउने प्रयास गरेपनि उनको गोल भीएआरले अफसाइड करार गरेको थियो।

खेलमा लिभरपुलले १५ सट प्रहार गरेपनि ३ सट टार्गेटमा राखेको थियो। चेल्सीले पनि ११ सट प्रहार गरेपनि २ सटमात्र टार्गेटमा राख्यो। बराबरीपछि लिभरपुलले १९ खेलमा २९ अङ्क जोडेर आठौं स्थानमा रहँदा २० खेलबाट समान २९ अङ्क जोडेपनि चेल्सी १० औं स्थानमा रहेको छ।