म्याग्दीमा पालिका र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य

जेठ ११, म्याग्दी  – म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिनुभएको थियो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भने ६ स्थानीय तहको प्रमुख तथा अध्यक्ष र ४५ वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन् ।

अघिल्लो निर्वाचनको तुलनामा उम्मेदवारमा महिलाको सङ्ख्या बढे पनि विजयी हुन नसकेकाले स्थानीय तह र वडाको नेतृत्वमा महिलाको अवस्था कमजोर बनेको हो । अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बनेका हुन्। यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसपटक म्याग्दीको स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बने।

त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगङ्गा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थिए । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका ६ महिला नै पराजित हुनुभएको छ । हरेक स्थानीय तहमा एउटै पार्टीबाट प्रमुख र उपप्रमुखमा उम्मेदवार बनाउँदा एक पदमा महिला अनिवार्य भए पनि धवलागिरि गाउँपालिकामा गठबन्धनका कारण अध्यक्ष र उपाध्यक्ष दुवै पुरुष निर्वाचित भएका छन्।

बेनी नगरमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन भए पछि उपप्रमुखमा माओवादी केन्द्रकी ज्योति लामिछाने विजयी हुनुभएको छ भने रघुगङ्गाको उपाध्यक्षमा कांग्रेसकी प्रेमकुमारी पुन, अन्नपूर्णको उपाध्यक्षमा एमालेकी दिवा तिलिजा, मङ्गलाको उपाध्यक्षमा एमालेकै प्रेमा अधिकारी क्षेत्री र मालिकाको उपाध्यक्षमा एमालेकै लक्ष्मीदेवी घर्ती पुन विजयी बनेका छन् । वडातर्फ न्यून सङ्ख्यामा खुला सदस्यबाहेक महिला र दलित महिला कोटामा मात्रै सीमित हुन पुगेका छन् ।