पाँच वर्षपछि काठमाडौं ‘डान्सिङ काठमाडौं’ हुन्छ -केशव स्थापित

बैशाख २३, काठमाडौं – नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेद्वार हुन्– केशव स्थापित। उनी ०५४ सालको स्थानीय चुनावबाट काठमाडौंको मेयर निर्वाचित भएका थिए। एमालेले दुई दशकअघिका काठमाडौंका चर्चित मेयर स्थापित यतिबेला चुनावी मैदानमा छन
चुनावी अभियानको व्यस्तताबीच  उनीसंग लिइएको अन्तर्बाताको सम्पादित अंश लिएको अन्तर्वार्ता

तपाईंले मेयर जित्नुभयो भने पाँच वर्षपछिको काठमाडौं महानगरपालिका कस्तो हुन्छ   ?

पाँच वर्षपछि काठमाडौं ‘डान्सिङ काठमाडौं’ हुन्छ। विभिन्न भाव–मुद्रामा खुशी काठमाडौं देख्न सकिनेछ। खुशीको सूचाकांकमा काठमाडौंलाई विश्वको पहिलो शहर बनाउने हो। मेरो ध्यान शहरी पूर्वाधारमा होइन, काठमाडौंबासीलाई खुशी बनाउनेमा हुन्छ। शहर बनाउनका लागि त इञ्जिनियर छन्, विभिन्न विज्ञहरू छन्। मानिसलाई साना–साना विषयले खुशी बनाउँछ। त्यही साना विषयमा मेरो ध्यान हुनेछ। मुलुकको विकासका लागि सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नागरिकको आत्मपरिचय हो।

मोटरसाइकलमा ‘साइलेन्सर’ थप राखेर मानिसले ठूलो अवाज किन निकाल्छन्रु उनीहरू आफ्नो आत्मपरिचय खोजिरहेका छन्, त्यसैले त्यस्तो काम गरिरहेका छन्।आफ्नो अस्तित्वको मान्छेले स्वतः खोज्छ। त्यसैले मानिसको अभिव्यक्तिका लागि हामी ‘फोरम’ बनाउँछौँ।

त्यसका लागि तपाईंसँग केही योजना पनि छन् कि ?

उदाहरणका लागि, नारायणहिटीको पर्खाल भत्काएर त्यसलाई खुला बनाउनसक्छौँ। त्यहाँ घुम्न आउने बालबालिकाका लागि बच्चाहरूले खाने समान्य खानाको व्यवस्था गर्नसकिन्छ। फर्किने समयमा मेयरको उपहार बनेर बालबच्चालाई बेलुन उपहार दिनसकिन्छ। यस्तो गर्दा बालबच्चामा मेयरप्रति राम्रो छाप पर्नेछ भन्ने त्यसको प्रभाव हाम्रो पार्टीमा पर्नेछ।

साना बच्चादेखि ठूला मानिसको मुहारमा हासो ल्याउन के गर्न सकिन्छ, हामी त्यो काम गर्नेछौँ। खुशी मानिसले जीवनलाई हेर्ने दृष्टिकोण फरक हुन्छ। जीवनप्रतिको दृष्टिकोणमा परिवर्तन आएपछि मानिसले झुसिल किरा देख्दै गर्दा त्यहाँभित्र अर्को सुन्दर जीवन छ भनेर बुझ्छ।

मैले शिक्षा क्षेत्रको विकासका लागि पनि यही प्रक्रिया अपनाउने हो। समाजको एक समुदायलाई दलितका नाममा वर्गीकरण गर्दा समाज नै विभाजित भएको छ। त्यसैले शिक्षामा मेरो पहिलो प्राथमिकता दलित समुदायलाई हुनेछ।स्वास्थ्यका क्षेत्रमा पनि शहरी क्षेत्रका गरीब, जसलाई म अन्तर्राष्ट्रिय रुपमा पिछडिएको वर्ग आरबी  भन्छु, उनीहरूको जीवन उकास्ने काम गर्ने मेरो योजना छ। विकास निर्माणको हामीलाई आवश्यकता छ तर त्योभन्दा बढी मानिसको हृदय परितर्वन गर्ने शिक्षाको आवश्यकता छ।

स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ। अस्पताल व्यवस्थित बनाउन तपाईंका योजना के छन् ?

स्वास्थ्य क्षेत्रका लागि मसँग पाँच–सातओटा योजना छन्। ती सबै भन्ने हो भने म मेयरको उम्मेदवार हो वा स्वास्थ्यमन्त्रीको भन्ने दुविधा हुन्छ। म अहिलेसम्म कहीँ नसुनिएको स्वास्थ्य बीमा ल्याउने छु।अर्को कार्यक्रम भनेको ‘मेयर स्वास्थ्य सेवा’ नाम राखेर घर–घरमा स्वास्थ्य सेवा पु¥याउने व्यवस्था मिलाउने छु। यो योजनाअन्तर्गत हेरक हप्ता घरमा स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गर्छन्। रोग लाग्नुअघि उपचार गर्नुपर्छ तर हाम्रोमा रोग लागेपछि मात्रै उपचार गर्ने चलन छ। त्यो गलत छ।

काठमाडौंका बासिन्दाको स्वास्थ्यमा समस्या आउनुको एउटा कारण वायु प्रदूषण पनि हो। जिल्लाबाट काठमाडौं आउने यात्रुवाहक साधनको चक्कामा टनका टन माटो आउँछ। त्यसका कारण काठमाडौंमा अत्यधिक धुलो जम्मा भएको छ। त्यसैले काठमाडौं भित्रिने सवारी साधनलाई नाकाहरूमा नै पानीले पखाल्ने व्यवस्था गर्नेछौँ।

हामी त्यसका लागि आवश्यक पर्ने आर्थिक सहयोग सम्बन्धित पालिकाबाट व्यवस्था गर्नेछौँ। गाडी पाखालेर कमाएको पैसा हामीलाई चाहिँदैन तर धुलोसहितका गाडी काठमाडौं छिराउन पाइँदैन।

तपाईं यसअघि पनि एक कार्यकाल मेयर भइसकेको व्यक्ति हो। यसअघि मेयरका रुपमा के–के काम गरेँ भनेर सम्झिनु पर्‍यो भने के–के सम्झिन्नुहुन्छ ?

मैले खास केही गरेको छैन। मैले यसअघि मेयरका रुपमा जे जति काम गरेँ, त्यो अत्यन्तै थोरै काम थिए। मान्छेहरूले माइती घर निर्माण भएको देखेका छन्। बाटो फराकिलो भएको देखेका छन् तर अब यी सबै कथा भएका छन्। ती कामले मानिसको जीवनमा धेरै रुपान्तरण ल्याउन सकेनन्। अहिले काठमाडौं महानगरपालिकाले गर्नसक्ने धेरै काम छन्। १६ खर्ब बजेट भएको देशमा काठमाडौं महानगरपालिका आफैँले १ खर्बको काम गर्न पाउने अवस्था छ। यस्तो महानगरपालिकाको नेतृत्व गर्दा मैले गर्नसक्ने धेरै काम हुन्छन्। त्यसैले त्यो समय र अहिलेको समयलाई तुलना गर्न नै मिल्दैन।