आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा गर्दै

बैशाख २३, काठमाडौं – सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौं उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ। बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गर्न लागेको हो ।

सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

काठमाडौं महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेनु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौंमा सभा गर्न लागेका हुन् ।

कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ। विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन्। कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गरिरहेको छ।