क्षयरोग नियन्त्रणमा लगानी बढाउन माग

पुष ११,बलेवा –नेपालमा क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या बर्षेनी बृद्धि भइरहेको छ । स्वास्थ्य कार्यालय बागलुङको तथ्यांकअनुसार हरेक वर्ष नेपालमा ६८ हजार क्षयरोगी भेटिने र तीमध्ये १७ हजार अकालमा मृत्यु हुने गर्दछ ।

कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले भने ‘मृत्यु हुनेसँगै भेदभाव र लाञ्छनाले रोगीको सिंगो परिवार, समाज बढी चिन्तित र कमजोर बन्ने गरेका छन् ।’ उनका अनुसार पछिल्लो समय क्षयरोग नियन्त्रणमा सरकारको लगानीवृद्धि भएको छैन ।

क्षयरोग भएकालाई कोरोना सङ्क्रमण, एचआइभी तथा अन्य सङ्क्रामक रोगको बढी समस्या हुने बताइएको छ । स्वास्थ्य कार्यालयद्वारा हालै यहाँ आयोजित ‘लाञ्छना तथा भेदभावविरुद्धको अभियानसम्बन्धी अभिमूखिकरण कार्यक्रम’मा कार्यपत्र प्रस्तुत गर्दै क्षयकुष्ठ निरीक्षक घिमिरेले क्षयरोगमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । नेपालका कुल सङ्क्रमितमध्ये झन्डै ३७ प्रतिशतमा कुनै न कुनै रुपमा क्षयरोग सुषुप्त रुपमा रहेको उनले बताए ।

एचआइभी सङ्क्रमणको अवस्था पनि डरलाग्दो रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले बताए । ‘क्षयरोग जस्तै एचआइभीको जोखिम पनि बढी छ”, उनले भने ‘ एचआइभी संक्रमण कम गर्न आप्रवासी कामदारको परिवार, लागूपदार्थ सेवनकर्ता र यौनकर्मीहरुमा बढी लगानी गर्नुपर्ने भएको छ ।’उनले असुरक्षित यौन सम्पर्क र लागुपदार्थ सेवनकर्तामा ध्यान दिन सकेमा यो रोगबाट बच्न सकिने बताउनुभयो । उहाँका अनुसार जिल्लामा पछिल्लो समय एउटै सुई प्रयोग गरेर लागुपदार्थ सेवनकर्ताबाट बढी सङक्रमण देखिएको छ ।

रोकथामका उपायसँगै भेदभाव र लाञ्छना हुन नदिन पनि भूमिका खेल्नुपर्ने उनको भनाई थियो । कोरोना सङ्क्रमण भएको व्यक्ति रोगले भन्दा लाञ्छनाले बढी कमजोर भएको अध्ययनले देखाएको कार्यालयका प्रमुख गुरौंले बताए ।सबै सङ्क्रमणको उपचार र पूर्व तयारी सम्भव हुने जनाउँदै लाञ्छना हटाउन सामाजिक अभियान सञ्चालन आवश्यक रहेका बताए ।

कार्यक्रममा राष्ट्रिय एचआइभी तथा एड्स महासंघका कार्यक्रम अधिकृत सिर्जना थापाले नियमित परीक्षण, स्वास्थ्य शिविर सञ्चालन गरेर तथा निरन्तरको चासोबाट एड्स रोग अन्त्य गर्न सकिने बताए ।