‘एक वडा एक किलोमिटर सडक कालोपत्र’

पुष ११, पाल्पा – तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।

आठौँ नगर परिषद्ले निर्णय गरी चालु आर्थिक वर्ष २०७८÷७९ बाट सञ्चालन गर्ने गरी बहुवर्षीय कार्यक्रमअन्तर्गत काम अगाडि बढाइएको हो । यसका लागि करिब रु १५ करोड बजेट समेत विनियोजन गरिएको छ । पहिलो चरणमा ७०० देखि ९०० मिटरसम्म सडक कालोपत्र हुनेछ भने क्रमशः सबै वडाका सबै सडक आगामी तीन÷चार वर्षभित्र कलोपत्र हुँदै जाने नगर प्रमुख अशोककुमार शाहीले जानकारी दिए ।

वडा नं २ मा उपभोक्ता समितिबाट काम अगाडि बढाइएको छ भने अन्य वडामा निर्माण व्यवसायीबाट काम अगाडि बढेको छ । निर्माणमा गुणस्तरीयता कायम गर्न प्रयोगशाला परीक्षण गरिएका निर्माण सामग्री प्रयोग हुने नगरपालिकाका इञ्जीनियर रामप्रसाद श्रेष्ठले बताए ।

नगरपालिकाले यहाँका ग्रामीण क्षेत्रका सबै वडामा कच्ची सडक निर्माणसँगै बाहैै्र महिना सहजरूपमा यातायात सञ्चालनका लागि सडकमा कालोपत्र गर्ने काम गरेको हो । एक वडा एक किलोमिटर सडक कालोपत्र योजनाअन्तर्गत काम थालनी भइसकेको र आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको तानसेन– ६ का वडाध्यक्ष सागरमान महर्जन जानकारी दिए।

गाउँमा सडक विस्तार तथा निर्माणलाई विकासको पहिलो खुट्किलो मानिन्छ । सडकको विकास हुँदै गर्दा अन्य सेवासुविधा भित्रिने आशामा स्थानीयवासी खुशी छन् ।