एन आई सी एशियाद्धारा दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउने सुविधा सार्वजनिक

भदौ १८, काठमाडौ – एन आई सी एशिया बैंकले मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank)  मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकलेNIC ASIA MoBankप्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन । Self Help बैंकिङ्गको अवधारणा अनुरुप NIC ASIA MoBank मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस सुविधाबाट बैंकका ग्राहकले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्ने छन ।

यस योजना अन्तर्गत ग्राहकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो NIC ASIA MoBank बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नेछन । यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको NIC ASIA MoBank भित्र रहेको Send Remit आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नेछन ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ । कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।