प्यारालाइसिसले थलिएका हरिचन्द्रको दुःखान्त

लक्का जवानीको उमेर छ । तर, न उठ्न सक्छन् न बस्न । हलचल गर्न समेत सक्दैनन् । २४ वर्षका भए । तौल ३० किलो पनि छैन । शरिर मै दिशा–पिसाब हुन्छ । मुखमा ¥याल चुहिन्छ । शरिरभरी झिंगा भन्किन्छन् । आफ्नो बलले सिन्को समेत भाच्न सक्दैनन् । जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्बर ७ मिचाका हरिचन्द्र रावलको जीवनको यर्थात हो यो । उनी विगत ६ वर्षदेखि कोहलपुर नगरपालिकाको वडा नम्बर ११ को सुकुम्बासी (डुडुवा) बस्तीमा नारकीय जीवन बिताउदै आएका छन् ।

भूमिहीन सुकुम्बासीहरुको बस्ती । पछाडी खरले छाएको घर छ । चारपाईमा हरिभचन्द्र बसिरहेका छन् । उनको दैनिकी यसैमा बित्ने गर्दछ । छेउमा रातो रङको बाल्टी राखिएको छ । उनी मुत्रनलीसम्म जोडिएको पाइप मार्फत पिसाब गर्दछन् । दिशा लाग्दा भने उनकी आमाले साथ दिने गरेकी छन् । उनी आफ्नै बलले केही पनि गर्न सक्दैनन् । प्यारालाइसिसका कारण उनको शरिर नै चन्दैन । उनको बाँयापट्टीको शरिरमा पक्षघात भएको छ । जसका कारण उनको बायाँपट्टीको माथिल्लो शरिरदेखि खुट्टासम्म चल्दैन । जसका कारण उनलाई उठ्न, बस्न देखि खान र सुत्न समेत समस्या छ । ढाडमा समस्या छ । टाउकोमा चोट छ । बायाँ हातले काम गर्दैन । शरिर नै चल्दैन । उनी पूर्ण रुपमा अरुको भर बिना एक पाइला समेत सार्न सक्दैनन् । वरिपरीको वातावरण उज्यालो छ तर हरिचन्द्रको जीवन (अँध्यारो) मै बितिरहेको छ ।

शिरमा सेतो टोपी, टकल्क टल्किएका आँखा, ख्याउटे अनुहार हसिलो देखिएपनि उनको जीवनमा मुस्कान नआएको धेरै भयो । रातो, सेतो र कालो रङ मिश्रित भेष्ट र सेतै पाइन्ट र खुट्टमा मोजा र चप्पल लगाएका उनी मृत्युको पर्खाईमा छन्,६ वर्षदेखि । दुर्घटनापछि घर न घाटको भएर कहालीलाग्दो जीवन व्यथित गरिरहेका उनीसँग बाँच्ने रहर भने फिटिक्कै छैन । ‘ दुर्घटनापछि यस्तो भए । श्रीमतीले छोडेर गइन् । छोरीको विचल्ली छ । म आफू हिड्न,बस्न र खान समेत सक्दिैन ।’ उनले भने,‘मेरो सेवा गर्ने कोही पनि छैन । अपांग शरिर छ । यस्तो जीवन लिएर बाँच्न चाहन्न । म मर्न चाहन्छु ।’

रावल २०७२ सालमा आफैले चलाएको ट्याक्टर पल्टिएर दुर्घटनामा परेका थिए ।उनीसँगै सवार एक जनाको घटनास्थल मै मृत्यु भयो । उनी गम्भीर घाइते भए । उनको उपचारको लागि परिवारले नेपाल सहित भारतको लखनउ सम्म पु¥यायो । आमा कर्मकली रावल भन्छिन्,‘ यसको उपचारको लागि लाखौँ रुपैयाँ खर्च भइसक्यो । घरघडेरी बेचेर उपचार गर्दा समेत निको भएन । यसकै उपचारको लागि पैसा नभएर कंगाल भइसक्यौ । अहिले सुकुम्बासी भएका छौँ ।’

रावलको परिवार छोराको दुर्घटनापछि यहाँ आएको थियो । कर्मकली दुर्घटना भएलगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएको बताउँछिन् । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज लिन अस्पतालले सल्लाह दियो । यहाँको अस्पतालले पनि बाच्दैन भनेर फर्कायो । उनले पछि लखनउ लिएर उपचार गराएको जानकारी दिइन् । त्यहाँ लिदाँ समेत एक महिनासम्म होस आएन(आइसियू)मा उपचार गर्दागर्दै ३० लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । हरिचन्द्रको उपचारको लागि जेठो छोराको घर र कान्छा छोराको घडेरी बेचेको उनले बताइन् । एक दिनको बिल मात्रै ९० हजार देखि १ लाख सम्म आउथ्यो । घर बाँच्ने आशमा भएका सबै सम्भावना सकिएपछि आफै सुकुम्बासी भएको उनको भनाइ छ ।

हरिचन्द्र विरामी भएको एक वर्षपछि श्रीमती छोडेर गइन् । त्यतिबेला उनकी छोरी एक वर्ष पनि पुगेकी थिइनन् । हरिचन्द्र आफ्नो जीवनको भन्दा पनि छोरीको भविष्यलाई लिएर आफू साह्र चिन्तित रहेको बताउँछिन् । उनकी छोरीले अहिलेसम्म विद्यालयको ढोका समेत देखेकी छैन । हजुरआमा कर्मकला समेत नातिनी भविष्यलाई लिएर चिन्तित छन् । उनी आमाबुबा समेत बुढा भएको कमाउन समस्या भएको बताए । उनले आफ्नो जीवन रक्षाको लागि अपिल समेत गरेका छन् । केही समयदेखि रावल आमा बाबा र छोरी सहित डुडुवा खोला नजिकैको सुकुम्बासी बस्तीमा बेवारिसे अवस्थामा बस्दै आएका छन् ।
शुभाकर विश्वकर्मा,बाँके