सानिमा लाइफको आइपीओ आजदेखि खुल्ला, साउन २४ सम्म आवेदन दिन सकिने

साउन २०, काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले कुल जारी पुँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो।

त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र थप ५ प्रतिशत अर्थात ३ लाख कित्ता नै सामूहिक लगानीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ।

कम्पनीको आइपीओमा छिटोमा साउन २४ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा भदौ २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीले आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने जनाएको छ ।

इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओ निष्काशनपछि चुक्ता पूँजी २ अर्ब करोड रुपैयाँ पुग्नेछ।