मूल्य वृद्धिको विरोध : पाँच विद्यार्थी सङ्गठनद्धारा थानकोटमा धर्ना

असार ३०, काठमाडौ पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका छन् । मूल्य वृद्धिको विरोध गर्दै आएका विद्यार्थी सङ्गठनले आज देशभरका पेट्रोल पम्प बन्द गर्दै ढुवानीमा अवरोध गर्न डिपोमा धर्ना दिएका हुन ।

नेविसङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियू ९माधव नेपाल समूह०, समाजवादी विद्यार्थी युनियन ९उपेन्द्र यादव समूह० र अखिल छैठौंका नेता आज बिहान साँढे नौ बजेदेखि थानकोट डिपोमा धर्ना बसेका हुन् । डिपो प्रमुख अभिषेक ठाकुरले विद्यार्थीको धर्नाका कारण ढुवानी रोकिएको बताए । “आज कार्यालय समय शुरु भएसगैँ उनीहरु डिपो गेटमा धर्नामा बसेका छन । अधिकांश पम्पले मङ्गलबार साँझ नै पेट्रोलिमय पदार्थकोे ढुवानी गरिसकेका छन । तत्काल पेट्रोलियम पदार्थको अभाव हुँदैन । उहाँहरु धर्नाबाट निस्कनासाथ ढुवानी पुनः शुरु गछौँ”, उनले भने।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले विद्यार्थीको आन्दोलनले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका केही पम्प बन्द भएको जनाएको छ । आज बिहान उपत्यकाका केही स्थानमा सञ्चालित पेट्रोल पम्पमा पाँच विद्यार्थी सङ्गठनले केही पम्पको सटर लगाएर बन्द गराए तापनि अधिकांश पम्प खुला नै रहेको एशोसिएशनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार स्कुल तथा कलेज नजिक रहेका पम्प विद्यार्थीले बन्द गराए पनि अन्य स्थानमा सञ्चालित पम्प खुला रहेको छ ।