‘निःशुल्क एम्बुलेन्स र खाना खुवाउने सेवा दिइरहेका छौँ’

बाँके जिल्लामा कोरोना संक्रमणको अवस्था न्युन हुदैँ गएको छ । नयाँ वर्षको शुरुवातयता कोरोनाको हटस्पट बनेको बाँकेमा अहिले केहि सहजता आएको छ । पछिल्ला केहीदिनयता कोरोना संक्रमित र मृतकको संख्या घट्दै गएको हो । अहिले कोभिड अस्पतालमा समेत ओपिडी सेवा सुरु हुँदैछन् । जुन लामो समयसम्म कोरोनाका कारण प्रभावित भएकाहरुका लागि खुसीको खबर हो ।

तर यसले पारेको प्रभावले रोगीलाई र जनजीवन असहज भएको छ । कोरोना महामारी नियन्त्रण र रोकथामको स्थानीय सरकारका साथै सरोकारवाला समेत लागिरहेका छन् । यस्तै बाँके जिल्लामा रहेका राजनीतिक दलहरु समेत सामाजिक कार्यमा सक्रिय रुपमा लागिपरेका छन् । नेकपा एमाले र माओबादी लगायतका राजनीतिक दलहरुले कोरोना संक्रमितलाई सेवा गर्ने, कुरुवाका लागि खाना खुवाउने, राहत वितरण लगयतका काम गरिरहेका छन् । नेकपा एमाले बाँकेले मेडिकल कलेजमा कुरुवा र बिरामीहरुका लागि सौलियतमा खाना खुवाउने अभियान सुरु गरेको छ । अहिलेसम्म पाँच हजार भन्दा बढीलाई सेवा दिइसकेको छ । कोरोना महामारी र एमाले पार्टीमा देखिएको विवादका विषयमा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालासँग गरेको कुराकानीको सम्पादित अंश –

कोरोनाको महामारीको अवस्थामा एमाले बाँकेले के गरिरहेको छ ?

अहिलेको महामारीको अवस्थामा अरुलाई बचाउने भन्दा पनि आफै सुरक्षित हुनुपर्ने अवस्था छ । त्यसैले हामीले जिल्लाभर सबै साथीहरुलाई आफू सुरक्षित रहन आग्रह गरेका छौँ । यस्तै प्रत्येक पालिकामा साथीहरुले दैनिक खटिरहनु भएको छ । जनतालाई सहयोग गर्न साथीहरुले पहल गरिरहनु भएको छ । गाउँपालिका र अन्य क्षेत्रबाट प्रवाह हुने सेवाबाट बन्चित नहुने हिसाबले काम गरिरहेको अवस्था छ ।
यसैगरी आम सर्वसाधारणहरुलाई सचेतना दिने काम समेत भइरहेको छ । सबै भन्दा महत्वपूर्ण कुरा, सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गराउने कुरा नै प्रमुख प्राथमिकता हो । दोस्रो कुरा भनेको यदि कोहीपनि कोभिडबाट प्रभावित भए भने जिल्लाभरीका विरामीहरुलाई व्यवस्थापनको संयन्त्र निर्माण गरिएको छ । युवा संघ नेपाल बाँकेको नेतृत्वमा यूवा साथीहरुले काम गरिरहनु भएको छ । यस्तै एउटा एम्बुलेन्स सञ्चालन गरेका छौँ । यो निःशुल्क सेवा हो । जिल्लाका जुनसुके स्थानबाट उक्त एम्बुलेन्स सेवा दिन्छ ।

अर्को कुरा भेरी अस्पतालमा सस्तोमा खाना खुवाउने अभियान सञ्चालन भइरहेको छ । यसमा हाम्रा साथीहरुले पनि सहयोग गरिरहनु भएको छ । यसैगरी मेडिकल कलेज कोहलपुरमा सौलियतमा खाना खुवाउने अभियान एक महिनायता जारी अवस्थामा रहेको छ । हामीले ३० रुपैयाँमा त्यहाँ खाना खुवाउने गरिरहेका छौँ । बैजनाथ र कोहलपुरका साथीहरु सक्रिय रुपमा खटिनु भएको छ । १० देखि १५ जनाको टिम दैनिक त्यसमा खटिन्छ ।

जहाँ हामीले एक दिनमा ३ सयको हाराहारीमा सेवा दिइरहेका छौँ । यस्तै उपचारको क्रममा पनि व्यक्तिगत तथा पार्टीगत हिसाबमा सहयोग भइरहेको छ । जनचेतनालाई पनि प्रभावकारी रुपमा प्रयोग गरिएको छ । भेरियन्ट कडा भएका कारण कडा सुरक्षा आवश्यकताका विषयमा पनि जानकारी गराइरहेका छौँ ।

जिल्लाका पालिकास्तरमा चाहीँ कसरी कोरोना नियन्त्रणमा परिचालित हुनुहुन्छ नी ?

कोरोना रोकथाम र नियन्त्रणको सबैभन्दा बलियो आधार लकडाउनलाई मानिएको छ । विगत एक वर्षमा देश लामो समय लकडाउनमा रहयो । अहिले पनि लकडाउनको अवस्था मै छौँ । यसको चेक ब्रेक गर्नका लागि आवश्यक पनि थियो । सोही अनुसार अहिले पनि लागू गरिएको अवस्था छ । पछिल्ला केही दिनयता बाँकेमा कोरोना भाइरसका संक्रमण घटिरहेको तथ्यांक आइरहेका छन् , यसको प्रभावका रुपमा पनि लिन सकिन्छ ।

यसलाई अझै कडाई गर्ने कुरामा हामीले सहयोग गर्नुपर्छ । यो चेन तोडियो भनेपछि महामारी नियन्त्रण हुने सम्भावना देखिएको छ । विभिन्न देशका अनुभवहरुले पनि त्यो कुरा सिद्ध गरिसकेको अवस्था छ । यो भेलामा हामीले ठूला भेलाहरु गरेका छैनौँ । सिंगो पार्टी पंक्ति यसमा खटिएको छ । हामीले सचेतनालाई नै प्रमुखताका साथ लिएका छौँ ।

प्रत्येक वडा कमिटीमा पार्टीले साथीहरुले जनतालाई सचेत गराइरहनु भएको छ । घर बस्नको लागि प्रेरित गराउने काम भइरहेको छ । नेता, कार्यकर्ता र सर्वसाधारणहरु एकजुट भएर कोरोना रोकथामका लागि लडिरहनु भएको छ । केही समस्या परेको खण्डमा पनि हाम्रा साथीहरुले सेवा दिइरहनु भएको छ । यीनै काम गरिरहेका छौँ खासमा ।

एमालेमा वडादेखि केन्द्रसम्म विवाद छ, बाँके जिल्लामा समेत समानान्तर कमिटीका साथै गतिविधि समेत भइरहेका छन्, तपाईं जिल्लाको अध्यक्षका हैसियतले यस्ता गतिविधिहरुलाई कसरी हेरिरहनु भएको छ ?

दुःखका साथ भन्नुपर्छ, जनताले हामीलाई पाँच वर्षको स्पष्ट म्यान्डेट दिएका थिए । उक्त पार्टीको पुरानो कार्यकर्ता भएका कारण मलाई के लाग्थ्यो भने अबको १०–२० वर्ष हाम्रो विकल्पमा कुनैपनि शक्ति आउँदैन । तर हाम्रा नेता यस्ता देखिए । उनीहरुमा सत्तामा रहने बानी देखा परेका कारण समस्या सिर्जना भयो । भिन्न विचार भएकाहरुलाई निषेध गर्ने प्रवृत्तिले अहिलेको अवस्था सिर्जना भएको छ । नेतृत्वले आफूमा भएका गल्ती स्वीकार गर्ने अवस्था रहेन ।

पार्टीलाई शसक्त बनाउने भन्दा पनि जसरी पनि शक्ति आर्जन गर्ने असफल रणनीति अंगिकार भयो । नयाँ हिसाबमा पार्टी चल्न सकेन । भएको एकता खलबल्याउने देखि आफू इतर पक्षलाई कारबाही गर्ने प्रवृत्ति देखा परेका कारण समस्या निम्तिएको हो । निर्मम नाताशाह जस्तो व्यवहार सिर्जना भएको छ । त्यो व्यक्तिगत तथा पार्टीको जीवनका लागि समेत घातक रहेको छ । यसमा दोस्रो तहका नेताहरुले पनि सक्रियता देखाउनु पर्ने थियो, तर त्यसो हुन सकेन । देश महामारीमा छ ।

देश चरम समस्यामा परेको बेला समस्या समाधान भन्दा पनि शासक कुर्सी बचाउने खेलमा लागेको मैले अनुभूति गरेको छु । हिजो देखि कम्युनिष्टहरु नाताशाह हुन्छन् भन्ने आरोप लगाउँथे ।अहिले आएर ओली त्यो कुरा पुष्टि गर्दै छन् । जनताको भावना र चाहना माथि गम्भीर खेलवाड गर्ने काम भएको छ । आस्था माथि प्रकार भएको छ ।

धोका दिने काम भएको कम्युनिष्ट आन्दोलनलाई । अब तपाईंले भन्नु भएजस्तौ केपी ओली अहिले पनि देशको प्रधानमन्त्रीका साथै पार्टीको अध्यक्ष हुनुहुन्छ । हामी उहाँका कार्यकर्ता हौँ । यहाँ त मै हो अध्यक्ष । उहाँ पनि निर्वाचित , म पनि निर्वाचित । यहाँ त अशोक कोइराला पार्टीको अध्यक्ष होइन भनेर हल्ला गरिदैछ । हिजो सचिवमा पनि हारेको मान्छे अहिले माथि बाट एउटा गुटले अध्यक्ष भनेपछि सिंगो पार्टीको अध्यक्ष कसरी हुन्छ । विधि पनि छैन । विधान पनि छैन । नियम पनि छैन । केही पनि छैन । अझ उनैले हाम्रो पार्टीका नेताहरुलाई कारबाही गर्ने काम गरिरहेका छन् भन्ने पनि जानकारीमा आएको छ ।

यसले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउँदैन । उहाँहरुले जुन ढंगले मनोमानी गर्नु भएको छ । त्यो ठिक छैन । हामी पनि त कारबाही गर्न सक्छौँ,उहाँहरुलाई । तर त्यसले कुनै पनि कुराको निकटता ल्याउँदैन । केन्द्रीय नेताहरु एकताको पक्षमा हुनुहुन्छ, पहल भइरहेको छ । भोली कुने पनि ठाउँमा एकता भयो भने पनि यसले हामीमा निकटता ल्याउने काम गर्दैन । मलाई कारबाही गर्न कसैले रोकेको छैन । म पनि त कारबाही गर्न सक्छु । तर दुरी धेरै टाढा नपु¥याउ, नजिक राखिराखौँ भनेर हामी चुप बसेका छौँ । मौनतालाई कमजोरी नठानियोस ।

जिल्लाको केपी ओली पक्षले अशोक कोइराला आधिकारिक अध्यक्ष होइन भनिरहेको छ, यसलाई कसरी बुझ्ने त जनताले ?

अहिले जसले हामीलाई एमाले होइनन्, आधिकारिक होइनन भनिरहेका छन् नी । उनीहरु पार्टी विखण्डनको पक्षमा छन् । अहिले बाँकेमा एमालेको अध्यक्षको रुपमा चर्चा गरिएका सूर्य कमरेड जिल्लाको सचिवमा हारेको मान्छे हो । मलाई कसैले स्पष्टिकरण सोधेको छैन । कारबाही गरिएको जानकारी पनि छैन ।पार्टीले मलाई पदमुक्त गरेको लिखित जानकारी पनि गराएको छैन । उनीहरुलाई कुनै गुटबाट बनाइएको होला । कसैले पठाउँदैमा त्यस्तो हुन्छ भने त मेरो भन्नु केही छैन ।

त्यस्ता कुराका पनि कुनै पनि तुक पनि छैन । दम पनि छैन । नैतिकता भएको मानिसले यस्ता गतिविधि समेत गर्दैन । उहाँले आफ्नो नेतृत्वमा कोहलपुरको अस्पतालमा खाना खुवाईरहेका छौँ भन्दै हिड्नु भएको सुनेको छ । जबकी एकदिन त्यहाँ उपस्थित हुनु भएको छैन । हामीलाई नव माओबादी रे । कस्तो हास्याष्पद कुरा । हिजो ओली जिहरुले माओबादीको ताकतमा प्रम हुँदा त्यो कुरा देख्नु भएन । अहिले देख्नु भएको छ । यस्ता कार्य एउटा जिम्मेवार कार्यकर्ताले कहिल्यै गर्दैन । उहाँहरुले भनेको कुनै पनि कुराले हामीलाई फरक पार्दैन ।

उहाँहरुलाई जतिसुकै तर्क गरेपनि देशमा अहिलेको अवस्था माओबादीको आन्दोलनका कारण आएको हो । त्यही व्यवस्थामा देशको प्रधानमन्त्री हुने । त्यही व्यवस्थालाई कमजोर बनाउन लागेकाहरुले ठूला कुरा गर्ने , त्यस्तो पनि हुन्छ । जो हिजो गणतन्त्रको विपक्षमा थिए, उनीहरु अहिले परिवर्तनकारीको नारा लगाउँदैछन् ।

त्यसैले सूर्य ढकाल जीले म नै हो एमालेको अध्यक्ष भनिरहदाँ भोली महाधिबेशन हुँदा के होला, देखिएला । म त्यही हिजोको एमाले बाँके कै आधिकारिक अध्यक्ष हो । मैले सामानान्तर खोल्नुपर्ने आवश्यकता पनि छैन । उहाँले नैतिकता गुमाएर आफ्नो हिसाबमा हिड्नुहुन्छ भने भोली इतिहासले मुल्यांकन गर्ला नी ।

तपाई म नै आधिकारिक अध्यक्ष हो भन्नुहुन्छ, उहाँहरुले आफूलाई दाबी गरिरहनु भएको अवस्था छ, तपाई आधिकारिक हो भने पार्टीको नेतृत्वको विरोधमा खुलेयाम राजनीति गर्नेहरुलाई किन कारबाही गर्न सक्नु भएको छैन ?

मलाई तपाईँलाई भन्छु । पार्टीको विधान र संविधान भनेको के हो ? बेलायतमा अलिखित संविधान संविधान छ । कुनै पनि नियम, विधि भनेको त, मोरल हो । यसले बाँध्ने कुरा हो । नेतृत्व भनेको नैतिकतामा बाँधिएको एउटा जिम्मेवारी हो । जुन कुरा उहाँहरुमा देखिएको छैन । केपी ओलीले त हाम्रो पार्टीको विधानलाई एक्लै परिवर्तन गर्न नै पाउनु हुँदैन । उहाँ अहिले कुर्सी र सत्तामा हुनुहुन्छ ।

देश उहाँको विरुद्धमा छ । उहाँले राष्ट्रपतिलाई खल्तीमा हालेर हिड्नु भएको छ । उहाँ मनमौजी निर्णय गर्दै हुनुहुन्छ । त्यो कुरा बाँके पनि लागू छ । इतिहास साँची छ भोली कुनै पनि राम्रो मूल्यांकन होला नी । देश र पार्टी कसरी , कस्तो अवस्थामा चलिरहेको छ, सूर्य जि जस्तो कार्यकर्ताले बुझेको हुनुपर्छ । भोलीको परिणामले त देखाउँला नी । मैले कारबाही नगरेको पनि कारण छ, भोली यसले राम्रो सन्देश प्रवाह हुदैन भनेर मात्रै त हो ।

केन्द्रमा ओलीले विधान च्यात्न वित्तिकै मसँग भएको विधान त च्यातिएको छैन । मलाई दिएको अधिकार त मैले जतिबेला पनि आवश्यकताका आधारमा प्रयोग गर्छु नी । उहाँलाई स्पष्टिकरण सोध्ने, निष्काशन गर्ने अधिकार म सँग छ । उहाँहरुसँग छैन । म चाही के भन्छु भने अझै सबैजना सुध्रियौँ । पार्टीलाई एक बनाएर लैजान पहल गरौँ । अहिलकोे आवश्यकता जुट नै हो, फुट होइन ।