देश सम्झेर धवलागिरि अस्पताललाई सहयोग तिन युवाले

जेठ २५, काठमाडौ – जापानलाई कर्मथलो बनाएका तीन युवा मिलेर धवलागिरि अस्पताललाई एक लाख सहयोग गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका प्रकाश खड्का, नौ तित्याङका कृष्ण खड्का र काठेखोला गाउँपालिका–१ पालाका राजेश खत्रीले सो सहयोग गर्नुरेका हुन ।

स्थानीय संयोजनकर्ता पत्रकार राम थापाले आज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई सहयोग रकम हस्तान्तरण गरे । कोरोना महामारीसँग जुधिरहेको अस्पताललाई अत्यावश्यक चिकित्सा सामग्रीरऔषधि जोहोका लागि सघाउ पुगोस् भन्ने उद्देश्यले आर्थिक सहायता प्रदान गरिएको प्रकाशले बताउए ।

“अस्पतालमा अक्सिजन अभाव भएको खबर थाहा पाएपछि जेजति सकिन्छ सहयोग गरौँ भन्ने सोच आयो”, उनले भने, “सङ्कटमा साथ दिनु स्वदेशप्रतिको हाम्रो दायित्व पनि त हो ।” खड्काद्वय र खत्रीको जापानमा ‘नेपलिज ग्लोबल गु्रप जापान’ नाम गरेको कम्पनी छ । सहयोग बुझेपछि अस्पतालका अध्यक्ष मगरले उक्त रकमको सदुपयोग गरिने प्रतिबद्धता जनाए ।

“हामी टिममा पनि छलफल गर्छौँ, अक्सिजन सिलिण्डर या अरु कुनै अत्यावश्यकीय सामग्री व्यवस्थापनमा खर्च हुन्छ”, उनले भने, “महामारीको कठिन घडीमा प्रवासी युवाले गरेको सहयोग हाम्रा लागि अमूल्य छ ।” कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सिङ्गो राज्य संयन्त्र लागे पनि जनस्तरबाटसमेत स्वतःस्फूर्तरूपमा सहयोग जुटिरहेको छ ।

यसअघि आइतबार मात्र जापानमा रहेका तीन नेपाली संस्थाले धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई रु सात लाख ३७ हजार बराबरका चिकित्सा सामग्री उपलब्ध गराएका थिए । महामारीको यस विषम स्थितिमा स्वास्थ्य क्षेत्रका लागि देशविदेशबाट सहयोग जुट्ने क्रम जारी छ ।रासस