गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

वैशाख १३, पोखरा – गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे ।

प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव ल्याइएको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदमलाई मुख्यमन्त्रीले पनि समर्थन गरेकाले सरकारका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु परेको उनको भनाइ थियो ।

 

विपी कोइराला, गिरिजा कोइरालासँग जोडेर अहिलेको संसद बिघटन जायज छ भनेर मुख्यमन्त्री गुरुङ पुष्टि गर्न लागेको नेपालीले बताए । प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको गण्डकी प्रदेश सरकार मतियार बनेको र यो गण्डकी प्रदेशका जनताको भावनाबिपरीत रहेको उनको भनाइ थियो ।