स्वास्थ्य मन्त्रालयले भन्यो, ‘ कृपाया सचेत बनौ,केही दिनमै अस्पतालमा बिरामी राख्ने ठाउँ हुनेछैन’

बैशाख १२,काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेकै दरमा कोभिड–१९ को संक्रमण फैलिए केही दिनमै नेपालमा अस्पतालहरुले बिरामीलाई राख्न नसक्ने चेतावी दिएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतमा देखिएको भयावह अवस्थाबाट पाठ सिक्दै सचेत हुन आग्रह गरेको छ । यसलाई निमिट्यान्ह पार्न कुनै मेडिकल औषधि बनिनसकेको अवस्थामा महामारीबाट जोगिन मन्त्रालयले जारी गरेको मापदण्ड नै निर्विकल्प भएको बताएको छ ।

यस्तै, भारतमा जुन स्थिति देखिएको छ, यहि गतिमा फैलिए नेपालले पनि छिट्टै त्यही अवस्थाको सामना गर्नुपर्ने दिन आउनसक्ने चेतावनी पनि दिएको छ ।

‘जुन अवस्था भारतमा देखियो । नेपालका पनि केही क्षेत्रमा त्यसको संकेत देखिसकेको छ । अहिलेको संक्रमणको गति नरोकिए । केही दिनमै हाम्रा अस्पतालहरुमा बिरामी राख्ने ठाउँसमेत हुनेछैन । यो अवस्थालाई हेरेर सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गरौं’, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, महामारी फैलिन नदिनका लागि सञ्चारमाध्यमको नै भूमिका धेरै हुने भएकाले मापदण्ड पालना गराउन भूमिका खेलिदिन अनुरोध गरेको छ । साथै मापदण्ड नअपाउने जो कोहीलाई मिडियामा स्थान नदिन अनुरोध पनि गरेको छ ।