इच्छाकामनाको चनौटेदेखि ढुङ्ग्रेसम्म विद्युतीकरण

बैशाख ६, भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका करिब साढे २०० घरधुरीमा बिजुली बलेको छ । सामुदायिक विद्युतीकरण कार्यक्रमअन्तर्गत ती क्षेत्रमा बिजुली बालिएको हो ।इच्छाकामना–५ अन्तर्गत चण्डीभञ्ज्याङको चनौटेदेखि ढाला, पाङ्गडे, ढुङ्ग्रेसम्मका क्षेत्रमा विद्युतीकरणको काम सम्पन्न गरिएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव सिंहले जानकारी दिए ।

“स्थानीयवासीका लागि आवश्यक मिटर प्राधिकरणले उपलब्ध गराउनेछ”, सिंहले विद्युतीकरण शुभारम्भ कार्यक्रममा बताए, “सुरक्षित रहेर विद्युत् उपभोग गरौँ र खपत बढाऊँ ।” स्थानीयस्तरमा स्थापना गर्न सकिने कलकारखाना खोल्न आग्रह गर्दै सिंहले त्यसका लागि प्राधिकरणले आवश्यक विद्युत् उपलब्ध गराउने बताए। प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको सामुदायिक विद्युतीकरण विभागबाट ठेक्का भई विद्युतीकरण सम्पन्न भएको पनि सिंहले जानकारी दिए । उनका अनुसार विद्युतीकरण गरिएको ठाउँमा १००÷१०० केभिएका दुई वटा ट्रान्सफर्मर जडान गरिएको छ ।

मस्र्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको विद्युतीकरण शुभारम्भ कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेलले गाँउपालिकामा यसै वर्ष विद्युतीकरणको काम सम्पन्न गर्ने गरी काम भइरहेको बताएयो । उनले सङ्घीय सरकारको तर्फबाट विद्युतीकरणका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले पालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले प्राधिकरणको प्रयासले बिजुली बाल्न सकिएको र यसले गाउँलेको जीवन पद्धतिमा परिवर्तन ल्याउने बताए ।

गाउँपालिकाको सामुदायिक क्षेत्रमा पर्ने २, ३ र ५ नम्बर वडामा विद्युतीकरण हुन बाँकी छ । वडा नं २ को काउलेमा विद्युतीकरणका लागि ठेक्का भई काम भइरहेको सहकारी संस्थाका व्यवस्थापक कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार तोबाड, वडा नम्बर ७ को सिराइचुली, ज्यानडाला, चण्डीभञ्ज्याङको ताल्ची, तुल्चेलगायत क्षेत्रमा विद्युतीकरण हुन बाँकी छ ।

यस्तै, वडा नं २ का केही ठाउँ तथा ३ र ४ नम्बर वडा केही ठाँउमा पनि विद्युतीकरण हुन बाँकी छ । सो क्षेत्रमा पिछडिएको समुदाय चेपाङ तथा गुरुङ, मगरलगागत जातजातिको बसोबास रहेको छ । शुभारम्भ कार्यक्रममा विभिन्न राजनीतिक दलका गाउँ कमिटी अध्यक्षहरू तथा भरतपुर वितरण केन्द्रका प्राविधिकको उपस्थिति थियो ।