काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट

बैशाख ६,काभ्रेपलाञ्चोक –  जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि रु एक अर्ब बजेट विनियोजन भएको छ । सरकारले हालै बजेट सुनिश्चिततासहित काभ्रे उपत्यका स्मार्ट सिटीका लागि थप बजेट विनियोजन गरेको हो ।गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

उपत्यकासहित झापाको गौरीगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, भक्तपुरको गुण्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, धनकुटा, दाङको तुलसीपुर, दैलेखको दुल्लू, कञ्चनपुरको भीमदत्त र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको हो । प्रत्येक स्मार्ट सिटी विकासका लागि रु एक अर्ब बजेट विनियोजन भएको शहरी विकास मन्त्रालयले जनाएको छ ।

‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि हालै रु एक अर्ब बजेट विनियोजन भएकाले वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन भइसकेको पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । उनका अनुसार यसअघि २०७४ असारमा गरिएको निर्णयमा विशेष महत्वका साथ स्मार्ट सिटी बनाउने केही शहरलाई यसपटकको निर्णयमा हटाइएको छ ।

“स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयवासीले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ”, नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटाले बताए । शहर स्मार्ट बन्न सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ तर, भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुनसक्नेछ । राष्ट्रिय योजना आयोगले भने यसअघिको स्मार्ट सिटी योजनामा स्मार्ट जनता, स्मार्ट शासन, स्मार्ट अर्थ–व्यवस्था, स्मार्ट पूर्वाधार गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको थियो ।

यसअघिको स्मार्ट सिटी योजनाअुसार काभ्रेपलाञ्चोकको तीन नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतकै नयाँ शहर आयोजनाअनुसार तीन नगर स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा थिए । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्तरगत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको थियो । पनौती नगरले त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गर्दै पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गर्ने निर्णय गरेको छ ।