प्रधानमन्त्रीद्वारा सबै दलसँग कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आग्रह

बैशाख ४, काठमाडौं  – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस–१९ को समस्याबारे समाधानका लागि सबै दलसँग सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको सर्वदलीय बैठकमा उनले सबैको सहकार्यबाट मात्र कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न सकिने भन्दै सबै दलका प्रतिनिधिसँग कोभिड–१९ को समस्या समाधान गर्न सुझाव मागेका राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले जानकारी दिए ।

नेता लोहनीले आफ्नो पार्टीको तर्फबाट बैठकमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि पाँच–सात बुँदा पेश गरेको जानकारी दिए । बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विमलेन्द्र निधि, जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोहनी र नेपाल मजदूर किसान पार्टीका नेता प्रेम सुवाल सहभागी भएका छन् । बैठकमा नेकपा (माओवादी केन्द्र) का कोही पनि नेता सहभागी भएका छैनन् ।