कोरोनाका बिरामीमा निमोनिया संक्रमण, बिज्ञ भन्छन् ‘सर्तकता अपनाऔं’

बैशाख २, काठमाडौं –  पछिल्लो समय कोभिड–१९ संक्रमित बिरामीमा निमोनिया देखिएको पाइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुलगायत अन्य अस्पतालमा कोरोनाका अधिकांश बिरामीमा निमोनिया देखिएको अस्पताल प्रशासनले जनाएको छ। प्रशासनका अनुसार टेकुमा मात्र निमोनियासहित नयाँ लक्षण सहितका १४ जना बिरामीको आइसियुमा उपचार भइरहेको छ।

आठजना बिरामीको भेन्टिलेटर र एकजनाको विशेष प्रविधिमार्फत् उपचार भइरहेको अस्पतालले जनाएको छ। अहिलेकै जस्तो संक्रमण जारी रहेमा अवस्था भयावह हुने टेकू अस्पतालका डा. अनुप बास्तोलाले बताए ।

‘बेलायतबाट उत्परिवर्तित भएको युके भेरियन्ट, ब्राजिलबाट उत्परिवर्तित भएको ब्राजिलियन भेरियन्ट, भारतबाट फैलिन सुरु गरेको डबल म्युटेड भेरियन्ट आदिले गर्दा झनै जोखिम बढेको छ,’ टेकु अस्पतालका अनुप डा. बाँस्तोलाले भने ‘अवस्था पहिलेको भन्दा गम्भीर हुन सक्ने भएकाले उच्च सतर्कता जरुरी छ।’

मुलुकमा कोरोनाको संक्रमण तीव्र बनेसँगै बालबालिका बढी प्रताडित बनेका तथ्यांकले देखाएको छ। पछिल्लो समय नियमित पठनपाठन सुरु भएसँगै विद्यालय कोरोना सार्ने माध्यमको रूपमा विकास भएका छन्। त्यसैलाई आधार मान्दै स्वास्थ्य मन्त्रालयले कम्तीमा एक महिना विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ।

मुलुकमा राजनीतिक सभा, समारोह र आन्दोलनले गर्दा संक्रमणको जोखिम बढ्दै गएको विज्ञहरू बताउँछन्। सुरक्षा सतर्कता नअपनाउँदा महामारी नियन्त्रणबाहिर जानसक्ने चेतावनी बास्तोलाले बताए ।