नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या १५ लाख ५५ हजार नाघ्यो

चैत ३, काठमाडौं  – नेपालमा कोभिड–१९ विरुद्धको खोप हालसम्म १५ लाख ५५ हजार ४४१ जनाले लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त तथ्यांक अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने लक्ष्य राखिएको भएपनि १५ लाख ५५ हजार ४४१ जनाले खोप लगाएको बताए।

यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ लक्ष्य रहेकोमा ११ लाख १६ हजार ५३२ ले लगाएका छन्। अहिलेसम्म निश्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतले सेवा लिइसकेका छन् ।

नेपालमा पहिलो चरणको खोप लगाएकाका लागि दोश्रो चरणको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले थप खोप नेपाल ल्याउने प्रक्रियामा रहेको उनले बताए।

उत्पादनभन्दा माग बढी रहेका कारण दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उनले स्पष्ट पारे। दुईपटकसम्म दिइने खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उनले जानकारी दिए। उनका अनुसार खोप लगाएको कार्ड भए विदेशमा जाँदा सजिलो हुनेछ।