भारतीय कम्पनीलाई अग्रिम भुक्तानी दिएर कोरोना खोप खरिद गर्ने सरकारको निर्णय

फागुन ५, काठमाडौं – सरकारले भारतको कोरोना भाइरसविरुद्धको खोप उत्पादक कम्पनीको सर्त अनुसार नै अग्रिम भुक्तानी गरेर कोभिसिल्ड खोप खरिद गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो।

नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सेरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको छ। अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन उत्पादन गरिरहेको उक्त कम्पनीले खोपको रकम सुरुमै भुक्तानी गर्नुपर्ने सर्त राखेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद ऐन र नियमावली अनुसार अग्रिम भुक्तानी गर्न नसक्ने भएपछि बाधा अड्काउ फुकाउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। मन्त्रालयको उक्त प्रस्तावलाई पास गर्दै मन्त्रिपरिषदले खोप खरिदका लागि अग्रिम रकम भुक्तानीको बाटो खुला गरेको एक मन्त्रीले जानकारी दिए।

सुरुमा सेरमले प्रति डोज ४ डलर ४ सेन्टमा २० लाख डोजमा खोप उपलब्ध गराउने बताएको थियो। तर नेपालका तर्फबाट प्रतिडोज ४ डलरमा उपलब्ध गराउन पहल भएको थियो। कम्पनीले नेपालको प्रस्तावलाई स्वीकार गर्दै ४ डलरमा खोप उपलब्ध गराउन सहमत भएको हो। कम्पनीले उक्त प्रस्ताव स्वीकार गर्दै अग्रीम भुक्तानीको सर्त राखेको थियो।

मन्त्रिपरिषदबाट अग्रिम रकम भुक्तानी गर्ने बाटो खुलेपछि खोप खरिदको काम पनि अब अगाडि बढ्ने ती मन्त्रीले जानकारी दिए। यो निर्णयसँगै नेपाल प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिद गर्न ८० लाख डलर ९९२ करोडभन्दा बढी नेपाली रुपैयाँ० कम्पनीलाई पहिल्यै भुक्तानी गर्नुपर्ने हुन्छ।

सरकारले उक्त रकममध्ये ८० प्रतिशत रकम सुरुमा नै पठाउने र बाँकी रहेको २० प्रतिशत रकम कम्पनीले ब्याच नम्बर राख्न थालेपछि खोप पठाउनुभन्दा अघि पठाउने भएको छ।

भारतको उक्त कम्पनीलाई सोही खोप उपलब्ध गराउन भन्दै बंगालदेशले ३४ लाख डोजका लागि प्रतिडोज साढे ५ डलरमा अग्रिम भुक्तानी गरिसेकेको छ। सेरमले ९३ वटा देशमा खोप पुर्‍याइसकेको अवस्था छ।