नेकपा दाहाल–नेपाल पक्षको चौथो चरणको आन्दोलन आजदेखि शुरु

फागुन ५, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दैछ। प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको सो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो ।

कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिँदैछ। जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

कार्यक्रम अन्तर्गत भोलि काठमाडौंको टुंडिखेल मानव साङ्लोले घेर्ने, फागुन ७ गते सबै वडामा विरोध गरिने तथा फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने सो समूहको तयारी छ ।

गत पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दाहाल–नेपाल समूह निरन्तर आन्दोलनमा छ। यो समूहले काठमाडौंसहित विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा व्यापक प्रदर्शन गरिसकेको छ ।