डा.दिनेश त्रिपाठीको न्यायालयको अवहेलनासम्बन्धी मुद्दामा पूरक निवेदन

माघ १५, काठमाडौं – न्यायालयको अवहेलना तथा मानहानी सम्बन्धमा सर्वोच्च अदालतमा दायर विभिन्न रिटमाथि सुनुवाइ गरिरहेको बेञ्चमा वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले पूरक निवेदन पेश गरेका छन् । बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासमा अवहेलनासम्बन्धी विभिन्न रिट निवेदनको सुनुवाइ भइरहेको छ । सोही क्रममा त्रिपाठीले सर्वोच्च अदालतको नियमावलीको नियम ४७ अनुसार बिहीबार नै पूरक निवेदन दिएका हुन् ।

त्रिपाठीले चार पूर्व प्रधानन्यायाधीश र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध परेको अवहेलनासम्बन्धी रिटका सन्दर्भमा चासो राखेका हुन् । सोही इजलासमा प्रधानमन्त्री केपी शर्माओलीविरुद्ध दायर अवहेलना तथा मानहानीको मुद्दा पनि सुनुवाई भइरहेको छ ।

प्राज्ञिक स्वतन्त्रता, विचार अभिव्यक्तिको स्वतन्त्रतालाई मानहानी भन्न नमिल्ने तर्कसहित उनले निवेदन दिएका हुन् । सो विषयमा आफ्नो पनि सरोकार रहेको भन्दै उनले सुनुवाईमा सरिक हुन पाउँ भन्दै निवेदन दिएका हुन् ।