नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा आजदेखि

मंसिर ११, काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासङ्घको ५४ औँ वार्षिक साधारण सभा आजदेखि शुरु हुँदैछ । गत चैत अन्तिम साता हुनुपर्नेमा कोरोना महामारी र बन्दाबन्दीका कारण दुईपटक स्थगित भएको साधारणसभा आजदेखि शुरु हुन लागेको हो ।

कोरोनाकै जोखिमका कारण साधारण सभाको औपचारिक कार्यक्रम यसपटक अभौतिक रूपमा सम्पन्न गर्न लागिएको छ । निर्वाचन कार्यक्रम भने शनिबार हुनेछ ।

महासङ्घको वैधानिक प्रावधान अनुरूप यो साधारण सभाले महासङ्घको अध्यक्षता वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई दिनेछ । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष कार्यकालपछि स्वतः महासङ्घको अध्यक्ष बन्नेछन् ।

भर्चुअल रूपमा हुने साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै गर्ने कार्यक्रम रहेको महासङ्घ सचिवालयले जनाएको छ ।

निर्वाचनको कार्यक्रम शनिबार तीन स्थानमा राखिएको छ । सचिवालयका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा जिल्ला नगर समूहको मतदान हुनेछ । यस्तै बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा एसोसिएट समूहको मतदान केन्द्र राखिएको छ । वस्तुगततर्फको मतदान भने टेकुस्थित महासङ्घ सचिवालय परिसरमै गर्ने निर्धारण गरिएको छ ।

महासङ्घको नयाँ पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष पदमा यस पटक व्यवसायी चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । दुवै उम्मेद्वारले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएका छन् ।