भारतीय विदेश सचिव नेपाल आउँदै, बिभिन्न बिषयमा छलफल हुने

मंसिर ११, काठमाडौं – भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज नेपाल आउने भएका छन् । भारतीय विदेश सचिवको नेपाल भ्रमण सामान्य कूटनीतिक भ्रमणको रुपमा मात्रै हेरिँदै आएको भए पनि यो पटकको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।

दुईदिने नेपाल भ्रमणका क्रममा सीमा विवादलाई मुख्य प्राथमिकतामा राखेर कुरा गरिने भएको छ । नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुराको भूभाग समेटेर नयाँ राजनीतिक नक्सान सार्वजनिक गरेसँगै भारत र नेपालबीचको सीमा विवाद सतहमा आएको छ ।

आज नै सचिवस्तरीय बैठकसमेत हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अनुसार नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रमाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे बैठकमा छलफल गर्ने तयारी रहेको छ ।