अक्सफोर्डको कोरोना खोप बृद्धका लागि पनि प्रभावकारी भएको दाबी

मंसिर ७, एजेन्सी – अक्सफोर्ड युनिभर्सिटीको कोरोना भाइरस खोपले ५६ देखि ७० बर्षभन्दा बढी उमेरका स्वस्थ ब्यक्तीमा प्रतिरोधात्मक क्षमता उत्पन्न गराएको दाबी गरिएको छ । द लान्सेटले प्रकाशित गरेको ५ सय ६० स्वस्थ ब्यक्तीमा गरिएको एक अध्ययनको डाटामा उक्त तथ्य उल्लेख गरिएको हो ।

उक्त सोधपत्रमा सीएचएडीओएक्स १ एनकोव १९ खोपलाई सुरक्षित भएको बताइएको छ र यसमा कुनै गम्भिर प्रकारको साइड इफेक्ट पनि देखिएको छैन । बढी उमेरका ब्यक्तीहरुमा कोभिड १९ संक्रमणको जोखिम धेरै हुने भएकोले यो नतिजा उत्साहजनक भएको शोधकर्ताहरुले बताए ।

त्यसैले धेरै उमेर समुहका ब्यक्तीहरुका लागि प्रभावकारी हुने खोप विकसित हुन आवश्यक महसुस गरिएको थियो । अक्सफोर्ड खोप समुहमा आवद्ध डाक्टर महेसी रामासामीले बढी उमेर समुहका ब्यक्तीहरुमा खोपको राम्रो परिणाम आएकोमा खुसी ब्यक्त गरे । बेलायतले अक्सफोर्डको यो खोपको १० करोड खुराक पहिले नै अर्डर दिइसकेको छ ।

तेस्रो चरणको परीक्षणमा रहेको यो खोपको प्रारम्भिक परिणाम आगामी केही हप्तामा आउने अपेक्षा गरिएको छ । अहिलेसम्मको नतिजाले अधिक आयुका वयस्कका लागि राम्रो प्रभावकारी रहेको मात्र नभइ युवा स्वयंसेवकहरुमा पनि समान रोग प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गरिरहेको रामासामीले बताए ।