९५ डुम परिवारका लागि पक्की घर

कात्तिक २६, काठमाण्डौँ – वर्षौँदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका ९५ डुम परिवारका लागि पक्की घर निर्माण शुरु भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत कल्याणपुर–३ मा ५७ डुम परिवार र कल्याणपुर–११ बगहामा ३७ डुम परिवारको पक्की घर निर्माण कार्य थालिएको छ ।

यसै वर्षभित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ । तराई मधेशमा सबैभन्दा तल्लो पिंँधमा जीवन बिताइरहेको र सामाजिक विभेद छुवाछूत तथा चरम आर्थिक सङ्कट खेपिरहेका डुम समुदायको पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले बताए । वर्षौँदेखि ऐलानी जग्गामा सुकुम्बासीको भएर बस्दै आएका डुम समुदाय पक्की घर पाउने भएपछि खुसी भएको छ ।

सिरहामा करिब चार हजार घरधुरी रहेको डुम समुदायले बाँसको नाङ्लो, हाते पङ्खा, ढकिया, कोनियालगायतका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएको छ । सिरहामा यस वर्ष जनता आवास कार्यक्रमअन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । रासस