कात्तिक २६, लन्डन – बेलायतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ
कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि एकैदिन यत्तिका धेरै मृत्यु भएको यो नै पहिलो हो । हालसम्म कोरोनाका कारण बेलायतमा ४९ हजार ७७० जनाको ज्यान गैसकेको स्वास्थ्य विभागले जनाएको छ ।
यसैगरी २४ घण्टाभित्र २० हजार ४१२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै बेलायतमा कोरोना संक्रमित हुनेको कुल संख्या १२ लाख ३३ हजार ७७५ जना पुगेको छ । कोरोना संक्रमणका कारण हस्पिटल भर्ना हुनेको संख्या भने निरन्तर बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा एक हजार ३६६ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएको मन्त्रालयले जनाएको छ । हाल एक हजार २६८ जनालाई उपचारार्थ भेन्टिलेटर बेडमा राखिएको छ । हस्पिटलमा उपचार गराइराखेका कोरोना संक्रमितको संख्या १३ हजार ६१७ पुगेको छ ।
